
चितवन । रक्तदानका लागि चितवनमा घुम्ती रक्त संकलन बस आइपुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरलाई उपलब्ध गराएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले भरतपुर महानगरपालिकाको पहलमा रगत संकलनका लागि घुम्ती बस उपलब्ध गराएको जानकारी दिए ।
गैरआवासीय नेपाली संघले घुम्ती रक्त संकलन बस भरतपुर महानगरलाई हस्तान्तरण गरेलगत्तै महानगरले पनि क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरलाई सञ्चालन गर्नका लागि साँचो उपलब्ध गराएको हो । संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, हालका उपाध्यक्ष डा. बद्री केसीले महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पौडेललाई घुम्ती बसको साँचो हस्तान्तरण गरेका थिए ।
महानगरको उक्त टोलीले सो साँचो रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरेको थियो । रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलले दुर्घटना बढी हुने, देशकै मध्यभागमा रहेको र मेडिकल सिटीको रुपमा विकास भइरहेको भरतपुरमा रक्त संकलनका लागि घुम्ती बस अत्यन्तै आवश्यक भएको बताए । उनका अनुसार जस्तोसुकै विपद् परिस्थितिमा पनि रगत संकलन गर्न घुम्ती बस सेवा उपयोगी हुनेछ ।
भन्सार र कर छूट गरेर भारतीय रूपैयाँ ३५ लाखमा गैरआवासीय नेपाली संघले बस खरिद गरेको हो । रक्तसञ्चार केन्द्रले चितवन ल्याइएको रगत संकलन गर्ने घुम्ती बस बागमती प्रदेशमै पहिलो भएको दाबी गरिएको छ । यसअघि पोखरामा पनि यस्तो घुम्ती बस सञ्चालन भइरहेको छ ।
बसमा रक्तदानका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरु बसमै जडान गरिएको छ । एकपटकमा दुई जना रक्तदाताले रगत संकलन गर्न सक्नेछन् । स्वास्थ्यकर्मीहरु बसभित्र रहेर रक्तदातालाई सघाउनेछन् । बसभित्रै रक्तदाताको प्रेसर जाँच, रक्त संकलन गर्ने फ्रिज, रक्तदाताका लागि आरामदायी बेडलगायतका अन्य उपकरणहरु जडान भएका छन् ।
दैनिक ५० युनिट रगत पु¥याउन कठिन परेको चितवनमा अब भने रगतको अभाव हुन नदिने रक्तसञ्चार केन्द्रले जनाएको छ । ‘कोरोना भाइरसको कहरमा चितवनमा रगत अभाव भएको थियो, अब बस सेवा सञ्चालनमा ल्याएसँगै जिल्लामा रगतको अभाव नहुने विश्वास छ’, नेपाल रेडक्रस सोसाइटी चितवनका अध्यक्ष ज्ञानशाली न्यौपानेले भने ।
गैरआवासीय नेपाली महासंघका संस्थापक अध्यक्ष डा. महतोले पहिलोपटक भरतपुर महानगरलाई रगत संकलन गर्नका लागि घुम्ती बस उपलब्ध गराएको बताए । उनले भने, ‘मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा स्वास्थ्य क्षेत्रमा अन्य सहयोग पनि गर्नेछौँ, प्रभावकारी काम भए सहयोग गर्ने दाताको कुनै कमी हुनेछैन ।’
हिमालयखवर संवाददाता -
- यी पनि एनआरएन अमेरिकाका सदस्य
- ड्यालसको नेपाली मन्दिरमा निशुल्क कोभिड टेस्ट हुँदै
- ओलीको भष्मासुर प्रवृत्तिको अन्त्य गरी प्रतिनिधिसभा पुनःस्थापना गछौँ : अध्यक्ष नेपाल
- पावरबल र मेगामिलियनको पुरष्कार राशी ५० करोड डलर भन्दा माथि
- नेपाली समाज टेक्सासद्वारा संचालित अनलाईन स्कूल संसारभरिकै निमित्त खुल्ला
- अमेरिकाको संसद भवन क्यापिटल हिलमा हंगामा
- अमेरिकामा पनि शक्तिशाली कोभिड-१९ भाइरस देखा पर्यो
- अमेरिकीहरूले फेरि सरकारबाट पाउने भए ६ सय डलर
- संसद् विघटन गरी ताजा जनादेशमा जाने निर्णयप्रति प्रवासी नेपाली एकता मञ्चको स्वागत
- एनआरएनएद्वारा भरतपुर महानगरलाई रगत संकलनका लागि घुम्ती बस सहयोग
प्रतिक्रिया