बिश्व घटना

बिहारमा तेजस्वीको पार्टीको दबदबा, मुख्यमन्त्रीचाहिँ नितिश कुमार नै बन्ने

बिहारमा तेजस्वीको पार्टीको दबदबा, मुख्यमन्त्रीचाहिँ नितिश कुमार नै बन्ने


पटना । भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जेडियू) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडिए) ले नै बहुमत प्राप्त गरेको हो । यस गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कूल ११० सिटमात्रै हासिल गरेको छ ।

पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल (आरजेडी) ले ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ । दोस्रोमा ७४ सिटसहित केन्द्रीय सत्तामा रहेको भाजपा छ भने मुख्यमन्त्री नितिश कुमारको जेडियूले केबल ४३ सिट जितेको छ ।

Advertisement

निर्वाचनको नयाँ नतिजाअनुसार अहिलेका मुख्यमन्त्री नितिश कुमार नै फेरि मुख्यमन्त्री बन्ने देखिएको छ  । तर भाजपाको तुलनामा आफ्नो पार्टीसँग निकै कम सिट रहेको स्थितिका कारण नितिश कुमारलाई चुनौती र खतरा भने निकै धेरै रहेको छ । 

नितिश कुमारले आफू बिहारमा अन्तिम पटकका लागि मुख्यमन्त्री हुने यसअघि नै बताइसकेका छन् । तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नितिश कुमार अब चौंथो पटक मुख्यमन्त्री हुने भएका हुन् । 

नतिजा सार्वजनिक भएसँगै एनडिएका समर्थकहरुले विजय जुलुस निकालिसकेका छन् । उनीहरुले वर्तमान केन्द्रीय तथा राज्य सरकारको समर्थनको रुपमा अहिलेको नतिजालाई व्याख्या गरेका छन् । कुल २४३ सिट रहेको बिहार राज्यको विधान सभाका लागि कोरोनाभाइरसको महामारीका बीचमा तीन चरणमा निर्वाचन भएको हो । 

 

निर्वाचनमा मतदानका लागि एक लाख छ हजार ५१५ मतदान केन्द्र तोकिएको थियो भने झण्डै ७५ प्रतिशत मतदाताको सहभागिता रहेको थियो । एएनआई

 

शेयर गर्नुहोस:

0
Shares