मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इरानमा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

इरानमा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु


तेहरान । कोरोनाभाइरसको महामारीबाट अतिप्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन् । इरानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ । 

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार इरानमा कोरोनाका कारण एकैदिनमा ३३७ जनाको मृत्यु भएको छ । इरानमा यसअघि एकैदिनमा २७९ जनाको कोरोनाका कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयसँग रहेको थियो ।

मन्त्रालयले पछिल्लो एकैदिनमा इरानमा चार हजार २५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको पनि जनाएको छ । योसँगै इरानमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या पाँच लाख ३४ हजार ६३१ पुगेको छ ।  

मुस्लिम गणतन्त्रात्मक मुलुक इरानमा कोरोनाभाइरसको महामारीको सुरुवाती चरणमा पनि धेरै असर परेको थियो । प्रारम्भीक समयमा इरानलाई कोरोनाको केन्द्रविन्दु नै मानिएको थियो । मध्यपूर्वी देशहरुमध्ये इरान कोरोनाबाट धेरै प्रभावित देशमा पर्दछ भने मध्यपूर्वमा हप्तामा तीस हजार जनासम्मको कोरोनाका कारण मृत्यु हुने गरेको थियो । 

सरकारले कडा लकडाउन लागू गरेपछि केही कमी आएको थियो । कोरोना महामारीका कारण इरानको मानवीय अवस्था, आर्थिक अवस्थालगायतमा ठूलो क्षति भएको छ । 

केही समय अगाडि महामारीको प्रभाव कम देखिन थालेपछि सरकारले विद्यालय, विश्वविद्यालय, मस्जीद, पुस्तकालय, व्युटी पार्लर, सैलुनलगायतका सार्वजनिक स्थल र धेरै भीड हुने ठाउँ पनि खुल्ला गरिदिएको थियो । ती क्रियाकलापहरु सञ्चालन गर्दा मास्क अनिवार्य गरिएको थियो । तर यी सार्वजनिक स्थलहरु खुल्ला गरिएकै कारणले फेरि सङ्क्रमित र मृतकहरुको सङ्ख्यामा वृद्धि भएको विश्लेषण गरिएको छ ।  

कोरोना नियन्त्रणका लागि इरानमा सरकारले गरेका कतिपय निर्णयहरु बेला बेलामा विवादमा पर्ने गरेका छन् । कोरोनाभाइरसले देशका उच्च अधिकारीहरुलाई पनि सङ्क्रमित गरेको छ । एपी