मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा कोरोना सङ्क्रमण समुदायमा फैलिएकोबारे ‘एन्टिबडी’ परीक्षण सुरु

नेपालमा कोरोना सङ्क्रमण समुदायमा फैलिएकोबारे ‘एन्टिबडी’ परीक्षण सुरु


काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबारदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालिमपश्चात टोलीलाई शुक्रबार प्रदेश खटाइएको हो । 

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको बताए । अध्ययनबाट नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उनले जानकारी दिए । 

एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ । टोली शुक्रबार सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालिमपश्चात आइतबारबाट रगतको नमुना संकलन गर्नेछ ।  

नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो ।  

सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खासखास ठाउँमा (क्लस्टर) मा सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ । 

“नेपालमा अहिले केही जिल्लाका खासखास ठाउँमा (क्लस्टर)मा सङ्क्रमण फैलिएको छ”, उनले भने, “अब समुदायको कुन तहसम्म फैलिएको छ भन्ने त अध्ययनबाट थाहा हुन्छ ।” गत माघ १० गते नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको थियो । 

अहिलेसम्म नेपालमा ९८ हजार ६१७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै ७१ हजार ३४३ जना सङ्क्रमणबाट निको भएको, ५९०  जनाको निधन र २६ हजार ६८४ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै, अहिलेसम्म २३५ जना आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । महाशाखाले एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । ती समूहले बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर तथा समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलनबाट एन्टिबडी परीक्षण गर्ने छन् । 

यस्तै, सङ्क्रमित भएका र नभएकाको पनि एन्टिबडी परीक्षण गर्नेछ । महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वडामा रहेका मानिसको रगत नमुना परीक्षण गरिने बताए । उनका अनुसार एक वडामा १५ जनाको दरले नमुना परीक्षण गरिने छ । 

यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १५० जनाको नमूना सकलन गरी परीक्षण गरिने छ । उनले दसैँ अगाडि सबै नमूना सङ्कलन गरेर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण फैलिएको भन्नेबारेमा अध्ययन सुरु गरेको हो । 

अध्ययनका क्रममा जति प्रतिशतलाई सङ्क्रमण देखियो त्यतिप्रतिशत नै नेपालमा सङ्क्रमण फैलिएको भन्ने अनुमान गर्न सकिने महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले जानकारी दिए ।  

“सङ्क्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, महाशाखाका निर्देशक डा पाण्डेले भने, “तर अब अध्ययन गरेपछि मात्र समुदायमा सङ्क्रमण छ वा छैन भन्ने पुष्टि गर्दछ ।”