मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

सिपिएलमा सन्दीपको उत्कृष्ट बलिङ, समूह चरणमा खेलैपिच्छे विकेट

सिपिएलमा सन्दीपको उत्कृष्ट बलिङ, समूह चरणमा खेलैपिच्छे विकेट


काठमाडौँ । ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । जमैका तलावाजबाट खेल्दै आएका उनी समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भए ।   

सिपिएलको समूह चरणको सबै खेलहरु आइतबार राति सम्पन्न भएको छ । सिपिएलमा सहभागी ६ वटै टोली प्रत्येकले दस दस वटा खेल खेलेका थिए । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा सन्दीपले बलिङ गर्न पाउनु भएन । बाँकी नौ वटा खेलमा भने उनले खेलैपिच्छे विकेट लिए । सन्दीपको बलमा विपक्षी खेलाडीहरुले खुलेर रन बनाउन सकेनन् । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म नौ खेलमा १२ विकेट लिए । 

जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाए । जमैका समूह चरणका १० खेलमध्ये तीनमा जीत तथा ६ वटामा हारका साथ ७ अङ्क बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा खुम्चियो । यद्दपी सन्दीपले भने जमैकाका लागि कसिलो बलिङ गरे । 

सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए । उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिएका थिए । सो खेल जमैकाले ५ विकेटले जित्यो । यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिएका थिए । उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको उक्त खेलमा ४ ओभरमा ३० रन दिएका थिए । उक्त खेल राइडर्सले सात विकेटले जितेको थियो । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए । उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिए । उक्त खेलमा उहाँले हालसम्मकै उत्कृष्ट खेल देखाएका थिए । तर, सो खेलमा जमैका १४ रनले पराजित भयो । 

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए । गुएना अमेजन वारियर्सविरुद्धको उक्त खेलमा उनले चार ओभरमा मात्र १२ रन खर्चिए । सो खेलमा जमैका पाँच विकेटले विजयी भयो । यस्तै पाँचौ खेलमा सन्दीपले दुई विकेट लिएका थिए । बार्बाडोस ट्राइडेन्ससितको सो खेलमा उनले ४ ओभरमा १६ रन दिए । सो खेलमा जमैका ३६ रनले पराजित हुन पुग्यो । 

यस्तै सेन्ट किट्स विरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिए । सो खेलमा उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए । उक्त खेलमा जमैका ३७ रनले विजयी भयो । सातौँ खेलमा सन्दीपले एक विकेट लिए ।  ट्रिनबागो नाइट राइडर्सविरुद्धको सो खेलमा उनले चार ओभर बलिङ गर्दै २० रन दिए । सो खेलमा ट्रिनबागोले जमैकालाई १९ रनले पराजित गरेको थियो । 

यस्तै सेन्ट किट्स विरुद्धको आठौँ खेलमा सन्दीपले जमैकाका लागि बलिङ गर्न पाएनन् । उक्त खेल वर्षाका कारण रद्द भएको थिरयो । तर नवौँ खेलमा भने सन्दीपले एक विकेट लिन सफल भए । बार्बाडोस ट्राइडेन्स विरुद्धको सो खेलमा उनले चार ओभर बलिङ गदै २६ रन दिए । उक्त खेलमा जमैका सात विकेटले पराजित हुनपुग्यो । समूह चरणको अन्तिम खेलमा सन्दीपले निकै किफायती बलिङ गरे । सेन्ट लुसिया विरुद्धको खेलमा उहाँले चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए । तर, उनको टोली जमैका भने उक्त खेलमा ११ रनले पराजित भयो ।  

सन्दीपको टोली जमैकाले अब मंगलबार सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । उक्त खेलमा हालसम्मको खेल प्रदर्शनको आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । जमैकाले बलिङ लाइन सन्दीप माथि निर्भर रहने गरेको छ । उनले विपक्षी खेलाडीलाई खुलेर रन बटुल्न दिएका छैनन् । सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आएको त्यसैगरी ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ ।  

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन् । पहिलो पटक सन् २०१८ मा उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले सन् २०१९ मा सन्दीपलाई ७० हजार डलरमा अनुबन्ध गरेको थियो । सीपीएल सकिएपछि सन्दीप इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न युनाइटेड अरब इमिरेटस् ९युएइए० जानेछन् । यस यामको आइपिएल कोरोना महामारीका कारण भारतमा आयोजना नभएर युएईमा हुँदैछ । सन्दीपले आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नेछन् । उनी दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएका हुन् ।