मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाको नर्थ क्यारोलिनामा हुलाकमार्फत मतदान सुरु

अमेरिकाको नर्थ क्यारोलिनामा हुलाकमार्फत मतदान सुरु


 

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । तर, हुलाक सेवामार्फत मतदान गर्नेहरुका लागि नर्थ क्यारोलिना राज्यमा मतदान शुक्रबारदेखि सुरु भएको छ । 

Advertisement

नर्थ क्यारोलिना राज्यमा छ लाखभन्दा बढी मतदाताले हुलाकमार्फत मतदान गर्न नाम लेखाएका छन् । खासगरी कोरोनाभाइरसको त्रासका कारण ठूलो संख्यामा मानिसहरुले हुलाकमार्फत् मतदान गर्न खोजेको पाइएको छ । 

चार वर्षअघि यस राज्यमा हुलाकमार्फत मतदान गर्नेभन्दा यसपटक चार गुणा बढीले यस्तो अनुरोध गरेका हुन् । यी अनुरोधहरु खासगरी डेमोक्राट र स्वतन्त्र मतदाताहरुबाट भएको छ । हुलाकमार्फत् हुने मतदानलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबीच तीव्र मतान्तर छ । 

सन् २०१६ मा करिब एक तिहाई जनसंख्याले हुलाकमार्फत् मतदान गरेका थिए । यस पटक भने ठूलो संख्याका मतदाताले हुलाक सेवाको प्रयोग गर्न सक्ने निर्वाचन अधिकारीहरुले बताएका छन् । 

विस्कन्सिन राज्यमा पनि सन् २०१६ को चुनावमा भन्दा झण्डै एक लाख बढीले हुलाकमार्फत मतदान गर्न अनुरोध गरेका छन् । फ्लोरिडा राज्यमा सन् २०१६ मा ३३ लाख ४७ हजार ९६० जनाले हुलाक सेवाका लागि अनुरोध गरेकामा यसपटक ४२ लाख ७० हजार ७८१ जनाले अनुरोध गरिसकेको र यो अझ बढ्न सक्ने अनुमान गरिएको छ । 

राष्ट्रपतिको चुनावमा “ब्याटलग्राउन्ड” भनेर चिनिने मिनेसोटा, पेन्सिलभेनिया र विस्कन्सिन राज्यमा हुलाक सेवाको प्रयोगमार्फत दुई साताभित्र मतदान हुनेछ । यी राज्यको चुनावी परिणामले आगामी राष्ट्रपतिको चयनमा प्रभाव पार्नेछन् । 

ऐतिहासिक तथ्यमाथि विचार गर्दा नर्थ क्यारोलिनामा हुलाक सेवामार्फत मतदान गर्नेहरु प्रायः रिपब्लिकन पार्टीका समर्थकहरु हुने गरेका थिए । तर, यस पटक यस्तो मदतानका लागि रिपब्लिकन समर्थकहरुभन्दा अरु मतदाताको संख्या बढी छ । डेमोक्रेटका ३ लाख २६ हजारभन्दा बढी समर्थकहरुले अनुरोध गरेका छन् । 

मतदाताहरुले हुलाक सेवाका लागि आगामी अक्टोबर २७ सम्म अनुरोध गर्न पाउँछन् । डेमोक्रेट पार्टीले हुलाक सेवाको प्रयोग गर्न अन्य राज्यमा पनि प्रोत्साहित गरिरहेको छ । मेन राज्यमा हुलाक सेवाको प्रयोगका लागि अनुरोध गर्नेहरु ६० प्रतिशत डेमोक्रेट छन् भने २२ प्रतिशत स्वतन्त्र मतदाता रहेका छन् । 

पेन्सिलभेनियामा डेमोक्रेटहरुले रिपब्लीकनको तुलनामा तीन गुणा बढी अनुरोध गरेका छन् । फ्लोरिडामा विगतमा हुलाकमार्फत मतदान गर्नेहरु बहुसंख्यक रिपब्लिकन समर्थकहरु हुने गरेका भए पनि यसपटक करिब ४८ प्रतिशत डेमोक्रेट र ३२ प्रतिशत रिपब्लिकन रहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाक सेवामार्फत हुने मतदानबाट धाँधली हुने बताउँदै आएका छन्, तर, धेरैजसो अध्ययनले हुलाक सेवा सुरक्षित रहेको फ्लोरिडा विश्वविद्यालयका प्रध्यापक मिचेल म्याकडोनाल्डले बताए । 

शेयर गर्नुहोस:

351
Shares