मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोनाबाट विश्वभर दुई करोड ६० लाख सङ्क्रमित, भारतमा ३८ लाख नाघे

कोरोनाबाट विश्वभर दुई करोड ६० लाख सङ्क्रमित, भारतमा ३८ लाख नाघे


नयाँ दिल्ली । कोरोना भाइरसबाट भारतमा कुल सङ्क्रमितको संख्या ३८ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्म सङ्क्रमितको कुल संख्या ३८ लाख २३ हजार ४४९ पुगेको हो ।  

तीमध्ये ७८ हजार ३५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कुल सङ्क्रमितमध्ये २९ लाख ४६ हजार ९२० अर्थात् ७७ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । 

Advertisement

अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण ६७ हजार १५५ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४५ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो । 

भारतमा अहिले पनि आठ लाख ९ हजार ३७४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । 

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण अहिलेसम्म संसारभर दुई करोड ६० लाख ८ हजार ५०९ जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म आठ लाख ६३ हजार १३६ जनाको कोरोनाकै कारणले मृत्यु भइसकेको छ । 

मृत्यु भएका र सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने दोस्रो धेरै ब्राजिलमा र तेस्रो धेरै भारतमा रहेका छन् । कोरोनाभाइरसको उत्पत्ति भएको मानिने चीन भने अहिले संक्रमितहरुको संख्याका आधारमा ३८ औँ स्थानमा रहेको छ ।

पछिल्लो विवरणअनुसार अमेरिकामा ६२ लाख ६८ हजार ५०७ जना सङ्क्रमित हुँदासम्म एक लाख ८९ हजार २२७ जनाको मृत्यु भएको छ । 

त्यसैगरी ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना सङ्क्रमित रहेकामा एक लाख २२ हजार ६८१ जनाको मृत्यु भएको तथ्यांक छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशमा पुगेको छ । सन् २०१९ को डिसेम्बरको अन्त्यतिर पहिलो पटक कोरोनाको संक्रमण चीनको उहान सहरमा देखिएको थियो । डिसेम्बर र जनवरीसम्म चीनमा मात्रै रहेको कोरोना फेब्रुअरीदेखि फिलिपिन्स, जापान, इरान, इटली, दक्षिण कोरिया, फ्रान्स हुँदै विश्वभरी फैलिएको हो । 

यो संक्रमण फैलाउने विषाणुलाई नयाँ कोरोनाभाइरस भन्ने गरिएको छ । विश्वभरी फैलिएर सबैलाई प्रभावित पारेको यस्तो संक्रमणको अहिलेसम्म पनि औषधि प्रमाणीकरण हुन सकेको छैन । कतिपय वैज्ञानिकहरुले औषधि बनाइएको दाबी गरे पनि ती सबै अहिले परीक्षणकै चरणमा रहेका छन् । 

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १२५ वटा कोरोनाभाइरसको खोपबारे अनुसन्धान भइरहेको छ जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन् । अघिल्लो साताको अन्त्यसम्म नौ खोपको तेश्रो चरणअन्तर्गत ठूलो संख्यामा मानिसमा परीक्षण भइरहेका उक्त अखबारले जनाएको छ । 

शेयर गर्नुहोस:

459
Shares