काठमाडौँ । नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर ९.८ प्रतिशतले कम रहेको छ । तथ्यांकभन्दा बढी नै निको भएको सरकारी अधिकारी बताउँछन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तथ्यांकअनुसार नेपालमा विश्वको तुलनामा सङ्क्रमण हुने दर कम भए पनि वास्तविक त्यसो नभएको बताए । उनले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर तथ्यांकमा कम देखिएको बताए ।
“हामीले सबै ठाउँबाट तथ्यांक सङ्कलन गर्न सकेका छैनौँ”, उनले भने, “सङ्क्रमित दैनिक निको हुनेको संख्या बढी भए पनि सङ्कलनमा समस्या भएकाले निको हुनेको कम तथ्यांक आएको हो ।” उनले सबै ठाउँबाट तथ्यांक आइसकेपछि निको हुने दर बढी देखिने बताए ।
विश्वमा अहिले दुई करोड ३४ लाख ९०० जना सङ्क्रमित भएका छन् भने एक करोड ५९ लाख ३५ हजार ४७३ जना निको भएर घर फर्किसकेका छन् । जुन निको हुनेको संख्या ६८.१ प्रतिशत हो । विश्वमा अहिलेसम्म आठ लाख नौ हजार ९८६ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भइसकेको छ । जुन मृत्युदर ३.५ प्रतिशत हो ।
नेपालमा छ लाख १० हजार ४६९ जनामा पिसिआर परीक्षण गर्दा ३२ हजार ६७८ जनामा सङ्क्रमण देखिएको छ । सोमध्ये १८ हजार ८०६ जना सङ्क्रमणमुक्त भई घर फर्किसकेका छन् । जुन ५८ प्रतिशत हो । नेपालमा अहिलेसम्म १५७ जनाको सङ्क्रमणबाट ज्यान गइसकेको छ । ११ हजार २७५ जना क्वारेन्टिन र १३ हजार ७१५ जना आइसोलेसनमा रहेका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले सवै तथ्यांक सङ्कलन गर्न नसकेकाले निको हुने दरको सङ्ख्यामा कमि देखिएको बताए । “हामीले सबै सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेका छैनौँ, कति होम आइसोलेसनमा पनि बसेर निको भएका छन्, कतिको निको भएपछि पनि पिसिआर परीक्षण भएको छैन”, उनले भने, “सबैको तथ्यांक हामीसँग आउँदैन, त्यसैले तथ्यांकमा निको हुनेको संख्या कमि देखिएको हो, धेरै नै निको भएका छन्, तर वास्तविक त्यस्तो होइन ।” उनका अनुसार करिब ८० देखि ९० प्रतिशत सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।
सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दाबन्दी (लकडाउन) साउन ७ गतेदेखि खुला गरेको थियो । पुनः सङ्क्रमित बढ्दै गएपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौँ उपत्यकामा यही भदौ ४ गतदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । चैत ११ गतेदेखि स्कुल, कलेज, सार्वजनिक यातायात, सभा, गोष्ठी, जात्राजस्ता बढी भिडभाड हुने कार्य गर्न रोक लगाइएको छ ।
आइतबार २८१ जना सङ्क्रमण जितेर घर गएका छन् । आजभन्दा ठीक एक महिना पहिला गत साउन ७ गते सङ्क्रमणमुक्त भएर जाने ७०.१ प्रतिशत रहेको थियो । एक महिनाको बीचमा निको हुने दर पनि ११.२ प्रतिशतले कमि आएको छ । यही भदौ ६ गते १३६ जना निको भएर घर जाँदा निको प्रतिशत ५८.९ प्रतिशत, भदौ ५ गते २५० जना निको भएर घर जाँदा निको प्रतिशत ५९.८ प्रतिशत रहेको थियो ।
यस्तै यही भदौ ३ गते १२० जना निको भएर घर जाँदा ६१.२ प्रतिशत, भदौ २ गते ८५ जना निको भएर घर जाँदा ६२.२ प्रतिशत र भदौ १ गते १६० जना निको भएर घर जाँदा ६४.२ प्रतिशत रहेको थियो । यसरी प्रतिदिन निको हुने दर पनि कमि आएको छ । रासस








प्रतिक्रिया