मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा थपिए ३३८ संक्रमित, थप चारसहित ७९ जनाको मृत्यु

नेपालमा थपिए ३३८ संक्रमित, थप चारसहित ७९ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ८४३४ जनाको पिसिआर परीक्षणका क्रममा ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । जसमा ६७३८ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि १९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
 
मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् ।  धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । 
 
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिला, पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिला,  काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुष र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुष रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७९ जना पुगेको छ ।
 
काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ११४३ पुगेको छ ।
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म चार लाख ५२ हजार २३६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १० हजार ७५९ जना देशभरका क्वारेन्टाइनमा र ६७३८ जना आइसोलेसनमा रहेका छन् ।
 
त्यस्तै, सोमबार एकै दिन कोरोना संक्रमण निको भई १४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ । जुन कुल संक्रमितको ७०.७ प्रतिशत हो । 

शेयर गर्नुहोस:

0
Shares