काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३८१ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ६३५९ जनाको पिसिआर परीक्षणका क्रममा ३८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । जसमा ६१७४ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेको छ ।
मन्त्रालयका अनुसार पर्सा। रौतहट, महोत्तरी र कैलालीमा ५०० भन्दा बढी संक्रमित छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम गरी सात जिल्लामा संक्रमितको संख्या शून्य छ । प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको बताए । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६० जना पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ५७, ललितपुरमा ५ र भक्तपुरमा १३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ७५२ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ४ लाख १२ हजार ९५३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ९ हजार ९२५ जना देशभरका क्वारेन्टाइनमा र ६१७४ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, बुधबार एकै दिन कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ पुगेको छ । जुन कुल संक्रमितको ७०.८ प्रतिशत हो ।
प्रतिक्रिया