मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, थप दुईसहित २६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, थप दुईसहित २६ जनाको मृत्यु


काठमाडौँ । नेपालमा बिहीबार थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा ४८ महिला र ३८६ पुरुष गरी ४३४ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमा ११४२ महिला र १० हजार २० पुरुष रहेका छन् । 
 
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८ र बुधबार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
 
नेपालमा हालसम्म कोरोना भाइरसका कारण २६ जनाको मृत्यु भएको छ । बिहीबार थप दुई जनाको मृत्यु भएको हो । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक र ललितपुरस्थित पाटन अस्पतालमा एक गरी दुई जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 
 
पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान–५ मा बसोबास गर्ने पुरुषको निधन भएको हो । उनको पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
 
प्रत्यारोपण गरिएका उनको स्वास्थ्यमा समस्या आएपछि सुरुमा भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा लगिएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरको स्पोर्ट चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो । 
 
नर्भिक अस्पतालले आइसोलेशनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा रेफर गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान ५ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रवक्ता डा गौतमले बताए । 
 
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएका स्याङ्जा जिल्ला आँधीखोला–१ का पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 
 
उपचारका क्रममा बुधबार राति ११ः३५ बजे उनको मृत्यु भएको थियो । मधुमेह र श्वास फेर्न समस्या भएपछि उनलाई यही असार ८ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
 
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ३१२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा १९ महिला र २७३ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २६५० पुगेको छ । जसमा २१६ महिला र २४३४ पुरुष रहेका छन् । 
 
देशका रसुवाबाहेकको ७६ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ । २४ घन्टामा पिसिआर विधिबाट छ हजार ५४३ जना र आरडिटी विधिबाट चार हजार १३७ जनाको परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
 
उनका अनुसार देशभर हालसम्म एक लाख ९९ हजार ७३७ जनाको पिसीआर विधिबाट परीक्षण गरिएको छ भने दुई लाख ८७ हजार ८३३ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७४ हजार २२ जना क्वारेन्टाइनमा र ८४८६ जना आइसोलेसनमा रहेका छन् । 

शेयर गर्नुहोस:

0
Shares