काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आज थप २५० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २३० पुरुष र २० महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।
थप सङ्क्रमितसँगै अब नयाँ सङ्क्रमतिको सङ्ख्या चार हजार ६१४ पुगेको छ । जसमा पुरुषको सङ्ख्या चार हजार २८५ छ भने महिलाको सङ्ख्या ३२९ छ । सङ्क्रमितको प्रादेशिक विवरणअनुसार प्रदेश नं १ मा १३ जिल्लाका ३०७, प्रदेश नं २ मा आठ जिल्लाका एक हजार ६७१, बाग्मती प्रदेशका १२ जिल्लाका १४७ र गण्डकी प्रदेशका नौ जिल्लाका १४७ जनामा कोरोना देखिएको छ ।
त्यस्तै प्रदेश नं ५ का १२ जिल्लाका एक हजार ३९९, कर्णाली प्रदेशका नौ जिल्लाका ७५९ र सुदूरपश्चिम प्रदेशका नौ जिल्ला गरी १९२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा १८७ जना डिस्चार्ज भएका छन । जसमध्ये आठ महिला र १७९ पुरुष रहेका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ । त्यस्तै मृत्यु हुनेको सङ्ख्या १५ जना पुगेको छ ।
यसैबीच, कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि प्रदेश नं २ मा स्वाब सङ्कलनलाई तीव्र बनाइएको छ । बुधबार एकैदिनमा प्रदेशका छ जिल्लाका एक हजार ४२० को पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको हो । एकैदिनमा यति धेरै स्वाब सङ्कलन गरिएको अहिलेसम्मकै सर्वाधिक हो ।
प्रदेशका आठ जिल्लामध्ये छ जिल्लामा बुधबार स्वाब सङ्कलन गरिएको छ । जसमध्ये पर्सामा ५६१, महोत्तरीमा ३४३, सर्लाही १८७, रौतहट १५२, बारा ११७ र धनुषाका ६० जनाको स्वाब सङ्कलन गरिएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहनुभएका वरष्ठि स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । प्रदेशमा अहिले स्वाब सङ्कलनको कूल सङ्ख्या २९ हजार ९५१ पुगेको छ ।
प्रदेश नं २ का आठ जिल्लामा गरी अहिले पिसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार ५७३ पुगेको छ । जसमा सबैभन्दा बढी रौतहट जिल्लामा ४७६ छन् । त्यसैगरि सर्लाहीमा ४१४, महोत्तरी १६७, धनुषा १४४, पर्सा ११९, सप्तरी १११, बारा ७७ र सिरहाका ६२ छन् ।
स्वाब परीक्षण गरिएकामध्ये बुधबार साँझसम्म १५ हजार ३८९ को रिपोर्ट आएको छ । जसमा एक हजार ५७३ सङ्क्रमित पाइएका हुन् । अझै १४ हजार ५६२ जनाको परिणाम आउन बाँकी नै रहेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए ।
प्रदेशका आठै जिल्लामा अहिलेसम्म ४२६ क्वारेन्टिन बनाइएका छन् । अहिले यी केन्द्रमा ३१ हजार ५४८ श्यया छन्, जसमा १९ हजार ७६९ रहेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै क्वारेन्टिनमा बस्नेको सङ्ख्या सात हजार ८७२ छ । प्रदेशमा आइसोलेसन शैय्या बढाएर एक हजार ३६१ पु¥याइएको छ । अहिले आइसोलेसनमा ७४९ जना छन् । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या २९९ पुगेको छ । जसमध्ये ३६ जना हिजो बुधबार निको भएर घर फर्केका हुन् ।
प्रदेशमा हालसम्म १२ हजार ३६७ जनाको आरडिटी गरिएको छ । जसमा ५५३ जनाको नतिजा पोजेटिभ र ११ हजार ८१४ को नतिजा नेगेटिभ आएको छ । यद्यपि पछिल्ला दिनमा क्वारेन्टिनमा रहेकाहरुको पिसीआर जाँचमै जोड बढाइएको निर्देशनालयले जनाएको छ । क्वारेन्टिन केन्द्र र शैय्या थपिँदै गए पनि पिसीआर परीक्षण अझै सघन हुनसकेको छैन ।
यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । यद्यपि प्रदेशमा कोभिड–१९ रोकथाम अभियानको समन्वय गर्दै आएको सामाजिक विकास मन्त्रालय र प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले उपलब्ध सामग्री र दक्ष जनशक्ति स्वाब सङ्कलनमा लगाइँदै आइएको जनाएको छ । रासस








प्रतिक्रिया