मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाका दर्जनौँ सहरमा प्रदर्शन, हिंसा भड्किन नदिन कर्फ्यु जारी

अमेरिकाका दर्जनौँ सहरमा प्रदर्शन, हिंसा भड्किन नदिन कर्फ्यु जारी


मिनियापोलिस । संयुक्तराज्य अमेरिकाका प्रमुख सहरहरुमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तीव्र भएसँगै कर्फ्यु लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । 
 
अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौँ दिन हिंसा फैलिएको छ । भीड नियन्त्रण गर्न खटाइएका दङ्गा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अमानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो । 
 
लस एन्जलस, शिकागो र एटलान्टासमेतका दुई दर्जन सहरमा मानिसहरूलाई स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरी रातभरि घरमै बस्न आदेश दिएको थियो । यहाँ नेसनल गार्डका सैनिकलाई पनि तैनाथ गरिएको थियो जुन अमेरिकी इतिहासमा बिरलै देख्न सकिने घटना हो । 
 
सियाटलदेखि न्यूयोर्कसम्म दसौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरुको एकमात्र माग थियो, अश्वेत युवा जर्ज फ्लोएडका हत्या आरोपी प्रहरीलाई कडाभन्दा कडा सजाय होस् र घटनामा संलग्न अरु प्रहरीलाई पनि गिरफ्तार गरियोस् । 
 
मिनियापोलिसका पुलिस अधिकृत डेरेक चौभिनले जर्ज फ्लोएडलाई ८ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयविदारक दृश्य सार्वजनिक भएपछि हिंसा भड्किएको हो । सास फेर्न छाडेपछि पनि चौभिनले झण्डै ३ मिनेटसम्म फ्लोएडको घाँटी थिचेको आरोप छ । 
 
लस एन्जलसमा उग्र प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाएपछि प्रहरीले उनीहरुलाई तितरबितर गर्न रबरको गोली र लाठीचार्ज गरेका थिए । 
 
शिकागो र न्यूयोर्कलगायतका धेरैवटा सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका थिए । फिलाडेल्फियामा प्रदर्शनकारीले पसलका झ्यालहरुमा ढुंगामुडा गरेर तोडफोड गरेका थिए । 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसमा भएका लुटपाट र आगजनीका लागि अति दक्षिणपन्थी समूह सक्रिय रहेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरुले फ्लोयडको स्मृतिलाई पनि अनादर गरेको ट्रम्पले बताए । 
 
राष्ट्रपतिले भने, “हामीले एउटा अराजक सानो समूहलाई हाम्रा शहरहरू तोडफोड गर्ने छुट दिनु हुँदैन । मेरो प्रशासनले भीडको हिंसा रोक्नेछ । र हामीले यसलाई निर्मम ढंगबाट रोक्नुको विकल्प छैन ।” अमेरिकी सीमा नाघेर प्रदर्शन क्यानाडाको टोरन्टो पनि पुगेको छ । 
प्रदर्शनकारीहरूले “अश्वेतको जीवनको महत्त्व छ”, “म सास फेर्न सक्दिन” भन्ने जस्ता नारा अमेरिकादेखि क्यानाडासम्म लागेको छ । जर्ज फ्लोयडका भनाईहरु अहिले प्रहरी क्रुरताको नयाँ प्रतीक बनेका छन् । 
 
मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिस सेन्टपल क्षेत्रमा प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन १३ हजार शक्तिशाली राष्ट्रिय गार्ड (अर्धसैनिक प्रहरी) परिचालन गरिएको बताएका छन् । मिनियापोलिसतर्फ जाने सबै प्रमुख राजमार्गहरुमा शनिबार राति सैनिक हेलिकप्टरहरूले आकाशबाट गस्ती गरेका थिए । 
 
यसैबीच, अमेरिकी पूर्वउपराष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाभर जारी जातीय प्रदर्शनसँगै भएको हिंसात्मक घटनाको निन्दा एवं भत्र्सना गरेका छन् । तर, उनले अन्यायका विरुद्धमा आवाज उठाउने अमेरिकीहरुको अधिकार भएको बताएका छन् । 
 
“यस्तो क्रुरताको विरुद्धमा प्रदर्शन गर्न अधिकार र आवश्यक दुवै हो । तर, आगजनी र अनावश्यक तोडफोड जरुरी होइन । मानिसको जीवनलाई खतरामा लैजाने हिंसा हामीले चाहेको होइन । मानिसको जीवनमा अत्यावश्यक व्यवसाय बन्द हुने हिंसा अक्षम्य हो ।” उनले एक विज्ञप्ति प्रकाशित गरी भनेका छन् । एएफपी
 

शेयर गर्नुहोस:

0
Shares