लण्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण हालसम्म ७८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीले ज्यान गुमाएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।
यस्तै, संयुक्त अरब इमिरेट्स (युएई)मा ६, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा संजीव सापकोटाले जानकारी दिए ।
कोरोना भाइरसका कारणले निधन हुनेमा यो साता थप पाँच जना रहेका aछन् । जसमा युके २, स्वीडेन १, बहराइन १, युएई १ थपिएका हुन् । डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
संक्रमितमध्ये २ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसको संक्रमणबाट निको भएको अनुमान समितिको छ । गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ ।
अन्य २० देशमा रहेका नेपालीहरुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको हो । एजेन्सी
प्रतिक्रिया