मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोनाबाट बच्ने अन्धविश्वासले विषाक्त रक्सी खाँदा ७२८ जनाको मृत्यु

कोरोनाबाट बच्ने अन्धविश्वासले विषाक्त रक्सी खाँदा ७२८ जनाको मृत्यु


तेहरान । विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या ७२८ भन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 
 
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो । गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए । इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो । 
 
अल्जरीले संप्रेषण गरेको समाचारअनुसार देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उनीहरुले अत्यधिक मात्रामा रक्सी सेवन गरेका थिए । इरान कोरोना भाइरसको सङ्क्रमण फैलिएको हिसावले मध्यपूर्वकै सबैभन्दा बढी प्रभावित देशमा पर्दछ ।
 
इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनौश जाहनपौरले सुरुमा ५११ जनाको विषाक्त रक्सीका कारण मृत्यु भएको र पछि ९० जनाको मृत्यु भएको बताएका थिए । पछि मृत्यु भएकाहरुको विषाक्त रक्सीका कारण आँखा खराब भएर मृत्यु भएको उनले जानकारी दिए । 
 
इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ । तर, रक्सी सेवनका कारण कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौ व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सीहरु सेवन गरेका थिए ।
 
विषाक्त रक्सीले सुरुमा मस्तिष्कलाई असर गरेर शरिरका अन्य अंगहरुलाई पनि काम गर्न नसक्ने बनाउने गरेको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छाती दुख्ने, वान्ता हुने, आँखामा समस्या हुनेलगायतका लक्षणहरु देखिने गरेको थियो । 
 
इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ८०६ पुगेको छ भने, ९१ हजारभन्दा बढी संक्रमित भएका छन् । यो संख्या मध्यपूर्वकै सबैभन्दा धेरै भएको जनाइएको छ । एएनआई

शेयर गर्नुहोस:

0
Shares