नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोभिड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ ।
दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिएका हुन् । उनले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोभिड १९ को संक्रमण भएका बताएका हुन् ।
उनले दिल्लीमा मात्र कोभिड १९ का बिरामीको संख्या ३ हजार नाघेको बताए । उनले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए ।
उनले भने– यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोभिड १९ को बिरामी परेका छन् । उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए ।
कोभिड १९ का भन्दा अरु अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित
तर, उनले दिएको जानकारीअनुसार कोभिड १९को उपचारका लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको उल्लेख गरे । उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए ।
उनले दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना बिरामी निको भएका बताए । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् ।
उनका अनुसार सोमबारमात्र १९० जना संक्रमित दिल्लीमा थपिएको बताए । यहाँ ५४ जनाको ज्यान गएको छ । उनका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा कोभिड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ ।
स्वास्थ्यमन्त्री जैनले भने– नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीव्र गतिमा फैलिन नपाएको हो र लकडाउन नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुनेथियो ।
लकडाउन कहिलेसम्म लम्बिन्छ ?
उनलाई सम्वाददाताहरुले सोधेको लकडाउन अझ कहिलेसम्म हुन्छ भनी सोधेको प्रश्नमा भने– अझ ७ दिन त बाँकी नै छ, त्यतिन्जेल हेरौँ, यो संक्रमणको फैलावटको अवस्था कस्तो हुन्छ, त्यसैको आधारमा हामी आगामी दिनको बारेमा निर्णय गर्नेछौँ ।
हाल त्यहाँ जारी रहेको लकडाउन आगामी मे ३ सम्मका लागि रहने छ । त्यसपछि के गर्ने भन्ने बारेमाा कुनै पनि राज्य तथा केन्द्र सरकारले पनि कुनै निर्णय गरिसकेका छैनन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबारमात्र पनि भारतका मुख्यमन्त्रीहरुसँग यस विषयमा भिडियो कन्फ्रेन्स बैठक गरेका थिए ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सो बैठकमा सहभागी भएका थिए । मुख्यमन्त्री केजरीवाल भने दिल्लीमा यो संक्रमणको विस्तार दर निकै बढ्दै गएकोले लकडाउनको अवधि थप्नुपर्छ भन्नेमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एएनआई







प्रतिक्रिया