काठमाडौँ । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस (कोभिड(१९) बाट संक्रमित हुने मानिसको संख्या ६ लाख नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा हालसम्म कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख १४ हजार ११७ पुगेको छ ।
यसैबीच, अमेरिकाभरि मृत्यु हुने मानिसको संख्या २६ हजार ५९ पुगेको छ । सीएनएनका अनुसार अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसबाट २४०७ व्यक्ति मृत्यु भएको छ ।
यो संख्या अमेरिकामा एकैदिनमा यो भाइरसका कारण मृत्यु हुनेमध्येकै हालसम्मकै उच्च हो । यसअघि अमेरिकामा २१३५ जनाको मृत्यु भएको थियो ।
अमेरिकाको न्युयोर्क राज्यमा मात्रै संक्रमितको संख्या दुई लाख नाघिसकेको छ । यहाँ २ लाख ३ हजार १२३ जना संक्रमित भएका छन् भने १० हजार ८३४ मानिसको मृत्यु भइसकेको छ ।
अमेरिकामा हाल ५ लाख ४९ हजार २३८ जना बिरामीको उपचार जारी छ भने १३ हजार ४७३ जना बिरामीको अवस्था गम्भीर रहेको छ । अमेरिकामा हालसम्म ३८ हजार ८२० जना निको भई घर फर्किएका छन् ।
कोरोनाभाइरसको महामारी फैलिएसँगै ढिलोगरी पहिलोपटक अमेरिकाको सबै राज्यमा आपतकाल घोषणा गरिएको छ ।
कोरोनाभाइरसको कारण बुधबार बिहानसम्ममा विश्वभर १९ लाख ९९ हजार २७९ मानिस संक्रमित भइसकेका छन् भने एक लाख २६ हजार ७२० मानिसको मृत्यु भइसकेको छ ।
यस्तै, १३ लाख ९३ हजार ६१७ जनाको उपचार जारी छ भने ५१ हजार ६०६ जनाको अवस्था जटिल रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । विश्वभर ४ लाख ७८ हजार ९३२ जना निको भइसकेका छन् ।







प्रतिक्रिया