काठमाडौँ । कोरोनाभाइरस (कोभिड १९) लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारी घोषणा गरेको एक महिना पनि नपुग्दै अमेरिकामा शनिबार राति १०ः१५ बजेसम्म १९ हजार ८१६ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा संक्रमितको संख्या ५ लाख ७ हजार ४१२ पुगेको छ । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार ५१८ पुगेको छ ।
अमेरिकाले सबैभन्दा बढी ज्यान गुमाउने देश इटालीलाई उछिनेको छ । इटालीमा हालसम्म १९ हजार ४६८ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा इटालीको भन्दा ३४८ जना बढीले ज्यान गुमाएका छन् । यद्यपि अमेरिकामा मृतकको संख्या बढिरहेको छ ।
विश्वभर संक्रमितको संख्या १७ लाख ३३ हजार ९४३ पुगेको छ भने ३ लाख ९२ हजार ८४३ जना निको भएका छन् । यसैबीच, विश्व स्वास्थ्य संगठनले लकडाउन तथा नियन्त्रणका उपायहरु चाँडै नहटाउन चेतावनी दिएको छ ।
अमेरिकामा शुक्रबार एकैदिन २०३५ जनाको ज्यान गएको थियो । यस्तै, यो समाचार तयार पार्दाको समयसम्म शनिबार १०६९ को ज्यान गएको छ । इटालीमा १ लाख ५२ हजार २७१ कुल संक्रमितमध्ये ८६ हजार ३९० उपचाररत छन् ।
इटालीमा शनिबार ६१९ जनाको मृत्यु भएको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । इटलीमा ४३ हजार ५२४ जना उपचारपश्चात् घर फर्किएका छन् ।
अलजजिरा लाइभ अपडेटका अनुसार अमेरिका एकैदिन दुई हजार मानिसको मृत्यु हुने पहिलो देश बनेको छ । अमेरिकामा १८ हजार ७८१ को मृत्यु हुँदा पछिल्लो चौबिसघन्टामा २१०८ जनाको ज्यान गएको हो । एजेन्सी







प्रतिक्रिया