बिश्व घटना

चीनद्वारा अमेरिकी पत्रकारलाई ‘देश निकाला’ गर्ने घोषणा

चीनद्वारा अमेरिकी पत्रकारलाई ‘देश निकाला’ गर्ने घोषणा


बेइजिङ । चीनले तीन अमेरिकी मिडियाका पत्रकारलाई दिएको अनुमतिपत्र फिर्ता गर्न र देश निकाला गर्ने घोषणा गरेको छ । 
 
अमेरिका-चीनबीच कोरोना भाइरसको संक्रमणका विषयमा विवाद बढेपछि मंगलबार चीनले तीन अमेरिकी मिडिया न्युयोर्क टाइम्स, वासिङ्‍टन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारलाई सन् २०२० को अन्तिमसम्म प्रेस अनुमतिको म्याद हुनेहरुले १० दिनभित्र आफ्नो अनुमतिपत्र फिर्ता गर्न निर्देशन जारी गरेको हो ।
 
चीनले यसअघि अमेरिकी पत्रकारलाई एक वर्षको भिसा जारी गरेको थियो । चीनको यस्तो निर्णयबाट कति पत्रकार प्रभावित हुन्छन् भन्‍ने यकिन हुन नसकेपनि तीन सञ्‍चामाध्यमहरु भने समस्यामा परेका हुन् । मेनल्यान्ड चीनसँगै अर्धस्वायत्त सहर हङकङ र कमाउमा पनि रिपोर्टिङ नगर्न अमेरिकी पत्रकारहरुलाई चेतावनी दिइएको छ । 
 
यसअघि अमेरिकाले पाँच चिनियाँ सञ्‍चारमाध्यमहरुलाई ‘विदेश नियोग’को संज्ञा दिँदै पत्रकारितासम्बन्धी कार्य गर्न बन्देज गरेको थियो । अमेरिकाको यस्तो निर्णयसँगै पाँचै चिनियाँ सञ्‍चारमाध्यमहरुले अमेरिकामा कार्यालय स्थापना गर्न र कर्मचारी राख्‍न अमेरिकाको अनुमति लिनुपर्ने प्रावधान गरिएको थियो । 
 
मार्च १३ मा अमेरिकी गृहमन्त्रालयले गरेको यस्तो निर्णयले अमेरिकामा रहेका चिनियाँ पत्रकारहरु समस्यामा परेका छन् । 
 
यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्‍वभर आतंक फैलाइरहेको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ लाई ‘चिनियाँ भाइरस’को संज्ञा दिएपछि चीन आक्रोशित बनेको थियो । चिनियाँ विदेश मन्त्रालयले चीनलाई आरोप लगाउनुअघि ‘आफ्नो मामिलामा मात्र ध्यान दिन’ चेतावनी दिएको थियो । सिएनएन