काठमाडौँ । कञ्चनपुरस्थित नेपाल भारतबीच सीमा समस्या समाधान गर्न माग गर्दै खानेपानीमन्त्री बिना मगरको नेतृत्वमा कञ्चनपुरका जनप्रतिनिधिले मंगललबार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग भेट गरेका छन् ।
भेटमा उनीहरुले नेपालीको भूमि भारततर्फ पर्ने गरी बनाइएको स्ट्रिप नक्सा तुरुन्त पुनरावलोकन गर्नुपर्ने, सुगौली सन्धिपछि स्थापना गरिएका जङ्गे पिलरलाई अन्तर्राष्ट्रिय सीमा रेखांकनको मुख्य आधार बनाउनुपर्ने, भत्किएका र गायब भएका पिल्लरलाई पुरानै ठाउँको खोजी गरी तत्काल पुनःस्थापना गरिनुपर्ने र नेपाली नागरिकको भोगचलनमा भएको अतिक्रमित जमिन फिर्ता गरिनुका साथै सीमा रेखाङ्कनबाट प्रभावित हुने जनताको आवश्यक व्यवस्थापन गर्न माग गरेका थिए ।
छलफलमा मन्त्री अर्यालले नेपाल र भारतबीच भएको सीमा रेखांकनसम्बन्धी विवादलाई राजनीतिक नेतृत्वबाट हल गर्नुपर्ने बताएका थिए ।
“दुवै देशबीच भएको नक्सांकनसम्बन्धी कार्य कर्मचारीले मात्रै गरेर हुँदैन”, उनले भने, “यो त राजनीतिक तहमा बसेर गर्ने काम हो, अब हामी स्थलगत निरीक्षण गरेर समस्याको समाधान निकाल्न योजना बनाउँछौँ ।”
सो अवसरमा मन्त्री मगरले नेपाल–भारत सीमा विवादले कञ्चनपुरबासीलाई समस्या परेको भन्दै कूटनीतिक संवादमार्फत पहल थालिनुपर्ने बताए । यसअघि सोही टोलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटगरी नक्सा सच्याउन जोड दिँदै ज्ञापनपत्र बुझाएको थियो ।
नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा रेखांकन गर्दा मुख्य सीमास्तम्भलाई आधार बनाएर स्ट्रिप नक्सा बनाउनुपर्नेमा कञ्चनपुर जिल्लाको सयौँ हेक्टर जग्गा भारततिर पर्ने गरी एकतर्फी रुपमा नक्सा बनाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया