काभ्रे । काभ्रेको पनौतीबजारमा टिप्परको ठक्करबाट आमा र छोरीको ज्यान गएपछि झडप हुँदा प्रहरी र स्थानीय घाइते भएका छन् ।
प्रहरी र स्थानीयबीचको झडपमा गोली चल्दा नेपाल प्रहरीका दिलिप बुढाथोकीको देब्रे हातको पातोमा गोली लागेको छ । स्थानीय हर्कबहादुर लामा र शरदलाई गोलीको छर्रा लागेको छ ।
झडपमा घाइते भएका दुई जना प्रहरी र तीन जना स्थानीयको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गोली कसले चलायो अझै पत्ता लाग्न सकेको छैन ।
पनौतीमा बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो ।
आक्रोशित भीडले प्रहरी बिट जलाएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । ठक्कर दिने टिप्परका चालक रोशी गाउँपालिका ६ का नवराज थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारका केही क्षेत्रमा मंगलबार बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ ।
पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको कार्यालयले जनाएको छ ।
सोमबारको घटनालाई लिएर परिस्थिति असहज बन्दै गएपछि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
“परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छौँ”, उनले भने ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।








प्रतिक्रिया