बिश्व घटना

जापानमा १९ जनाको सामूहिक हत्या गर्ने युवालाई मृत्युदण्डको फैसला

जापानमा १९ जनाको सामूहिक हत्या गर्ने युवालाई मृत्युदण्डको फैसला


योकोहामा । जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ । 
 
३० वर्षीय सातोशी उमाचु स्वयंले उक्त हत्याकाण्डको आरोपमा प्रतिवाद गरेका छैनन् तर उनका वकिलहरुले “मानसिक रोग”का कारण नशालु पदार्थको सेवन गरेका सातोशीले जानाजान व्यक्ति हत्या नगरेको दाबी गरेका थिए ।
 
उक्त घटना सन् २०१६ मा योकोहामा नगरमा भएको थियो । मुख्य न्यायाधीश कियोशी आउनुमाले अदालतको फैसला सुनाउँदै भने, “१९ जनाको जीवन समाप्त भयो । यो अति भयानक घटना हो ।”
 
प्रमाणहरुले सातोशीले हत्याको योजना बनाएको र मार्ने नियत प्रस्टै राखेको देखाएको उनले बताए । सरकारी अभियोजनकर्ताहरुले सातोशीलाई मृत्युदण्ड दिइनुपर्ने मागदाबी गरेका थिए । जापानमा झुण्ड्याएर मृत्युदण्ड दिइने प्रचलन छ ।
 
अदालतमा फैसला सुनाउँदा सातोशीमा कुनै आत्मग्लानि देखिएको थिएन र उनी न्यायाधीशलाई एकोहोरो हेरिरहेका थिए ।
 
सातोशीले अदालतको फैसला आफूलाई स्वीकार्य हुने र कुनै अर्को अदालतमा अपिल नगर्ने बताउँदै आएका थिए । तैपनि उनले आफूलाई मृत्युदण्डको सजाय नहुने दाबी गरिरहेका थिए । 
 
उनले केयर होममा आक्रमण गर्दा सबै अशक्त व्यक्तिलाई समाप्त गर्न चाहेको बताउँदै अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए ।
 
उनको आक्रमणबाट अरु २६ जना घाइते भएका थिए । उनीमाथि अदालतको फैसला सुन्न स्थानीय अदालतमा ठूलो भीड लागेको थियो । एएफपी