पेरिस । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३९ हजार ६५० जनामा सङ्क्रमण भएको छ । यसबाट ५ हजार १२० जनाको मृत्यु भएको छ । पाँच हजार ७९० जनाको अवस्था चिन्ताजनक छ ।
कुल सङ्क्रमितमध्ये ७० हजार ७३३ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सबभन्दा बढी मृतक र सङ्क्रमितको सङ्ख्या रहेको छ ।
यद्यपि चीनमा हाल यस भाइरसको सङ्क्रमण कम भएको समाचारमा जनाइएको छ । गत डिसेम्बरको अन्त्यबाट सुरु भएको यस भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार १७७ मृत्यु भएको छ भने ८१ हजारमा सङ्क्रमण भएको छ ।
रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । हालसम्म १३५ देशमा यस भाइरसको सङ्क्रमण फैलिएको बताइएको छ ।
यस भाइरसको सङ्क्रमणबाट अमेरिकामा ४१, फ्रान्समा ६१, जापानमा १९, जर्मनीमा ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इटालीमा सङ्क्रमितको सङ्ख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म १ हजार १६ जनाको मृत्यु भएको छ ।
इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ । हालसम्म ५१४ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८७ जनाको मृत्यु भएको छ ।
पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ ।
अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् ।
पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ ।
कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ ।
सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौ व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् । एएफपी / वल्डोमिटर [तस्बिर : एपी]







प्रतिक्रिया