लण्डन । बेलायतका स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् ।
उनलाई के कसरी कोरोना भाइरसको सङ्क्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ । बेलायतमा अहिलेसम्म ३८२ जनामा सङ्क्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अष्ट्रेलियामा भने सङ्क्रमितको सङ्ख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने तीनमात्रै रहेको पनि विभागले उल्लेख गरेको छ ।
यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि एक अर्ब ५५ करोड अमेरिकी डलर रकम छुट्याइएको घोषणा गरेका छन् । उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए ।
यसैगरी, दक्षिण कोरियामा थप २४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सातहजार ७७५ पुगेको छ ।
त्यसैगरी, थप छ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् ।
जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणअनुसार सङ्क्रमितको सङ्ख्या बढेर ५६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जनाइएका छन् ।
कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयौँ बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएको जनाइएको छ ।
उता अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कुल संक्रमितको संख्या १००१ पुगेको हो भने मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।
उनीहरुले वासिङट्नमा २६०, न्यूयोर्कमा १७३, क्यालिफोर्नियामा १४४ जनामा कोरोना भाइरस सङ्क्रम भएको पुष्टि भएको जनाएका छन् । सिन्ह्वा







प्रतिक्रिया