मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोनाको महामारीले जापानमा आपतकाल घोषणा गर्न कानुन संशोधन

कोरोनाको महामारीले जापानमा आपतकाल घोषणा गर्न कानुन संशोधन


टोकियो । जापानको मन्त्रिपरिषदले कोरोनाभाइरस (कोविड–१९) को सङ्क्रमण रोक्न प्रधानमन्त्री शिन्जो आबेलाई विशेष अख्तियारी दिने विधेयकलाई मङ्गलबार स्वीकृति दिएको छ । नयाँ विधेयकअनुसार प्रधानमन्त्री आबेले आवश्यकता परेको खण्डमा आपतकाल घोषणा गर्न सक्नेछन् । 
 
दुई वर्षसम्मको समयावधि तोकिएको उक्त विधेयकले हाल कार्यान्वयनमा रहेको नयाँ इन्फ्लुएन्जा रोकथाम कानुनलाई संशोधन गरेको छ । गत फेब्रुअरीमा जापनामा कोरोनाभाइरसलाई सङ्क्रामक रोगको रुपमा वर्गीकरण गरिएको थियो । 
 
उक्त विधेयकलाई आगामी बिहीबार बस्ने संसदको तल्लो सदनले पारित गर्ने र त्यसको भोलिपल्ट माथिल्लो सदनले अनुमोदन गर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री आबेको लिबरल डेमोक्रेटिक पार्टीको दुवै सदनमा बहुमत छ । 
 
नयाँ कानुनअनुसार स्थानीय सरकारहरुले स्थानीय मानिसलाई घरभित्रै बस्न निर्देश गर्न सक्ने, स्कुलहरु बन्द गराउन पाउने तथा धेरै मानिस भेला हुने स्थानहरु बन्द गराउन सक्ने छन् । 
 
साथै, स्थानीय सरकारहरुले कोरोनाभाइरससँग जुध्न आवश्यक औषधि र अन्य अत्यावश्यक सामग्रीको बेचबिखनमा नियन्त्रण गर्ने, निजी जग्गा जमिन र स्थानहरुलाई नियन्त्रणमा लिई स्वास्थ्योपचारका सेवा सञ्चालन गर्न सक्ने छन् ।
 
संसदको बजेट समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री आबेले आपतकाल घोषणाबाट मानिसका वैयक्तिक अधिकारका कतिपय विषय हनन भएको देखिए पनि आपतकालको निर्णय गर्नुअघि आफूले परिस्थितिको राम्रोसँग अध्ययन गर्ने बताए । 
 
जापानको हालको कानुनमा प्रधानमन्त्रीले जबर्जस्ती स्कुलहरु बन्द गराउन वा कार्यक्रमहरु रद्द गर्न सक्ने प्रावधान छैन । तैपनि प्रधानमन्त्री आबेले कोरोना प्रसारको भयावह परिस्थितिलाई ध्यानमा राखी आमजनतालाई आश्वस्त पार्न खोजेका थिए । 
 
विपक्षी दलहरुले भने व्यक्तिको स्वतन्त्रतामा आँच नआओस् भन्नका लागि सरकार निकै चनाखो हुनुपर्नेमा जोड दिएका छन् । मुख्य विपक्षी दल डेमोक्रेटिक पार्टी अफ जापानले आपतकाल घोषणा गर्नुअघि संसदको स्वीकृति लिनुपर्ने बताएको छ । सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares