काठमाडौँ । नोभल कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाइ गर्ने भएको छ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकामा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा सिमाना वारिपारी बैठकहरु गर्ने र स्वास्थ्य जाँच्ने स्थलहरु बढाउने निर्णय गरेको हो ।
चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर देखिन थालेको र खुल्ला सीमाना भएको छिमेकी मुलुकमासमेत देखिएकोले विमानस्थल र सीमामा सरकारले सुरक्षा बढाउन लागेको छ ।
त्यस्तै सीमामा आवगमन कम गर्ने, निकासी नियन्त्रण गर्ने, मास्क र औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधि तथा आत्यावश्यक सामग्री आयात गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलले भारत सरकारले अत्यावश्यक औषधिको माग गरेमा नेपाल सरकारलाई आपूर्ति गर्ने खबर पठाएको भन्दै औषधि अभावको समस्या नहुने बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरी छिटो भन्दा छिटो मास्कको उत्पादन बढाउने निर्णय भएको समेत उनले जानकारी दिएका छन् । बैठकले स्वास्थ्य परीक्षणलाई सहज बनाउन स्वास्थ्य मन्त्रायलाई निर्देशन समेत दिएको छ ।
परीक्षा छिटै सक्न निर्देशन त्यस्तै विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई कोरोना संक्रमण छिटो हुन सक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशनसमेत दिएको छ।
बैठकले विद्यालयमा ठूलो संख्यामा विद्यार्थी हुने भएकाले त्यहाँबाट कोरोना फैलिन सक्ने जोखिम कम गर्न कम्तीमा एक महिना पठनपाठन बन्द गर्ने तयारी गरेको हो ।
शिक्षा मन्त्रालयले यसअघि नै चाँडोभन्दा चाँडो विद्यालयको वार्षिक परीक्षा गराउन निर्देशन दिइसकेको छ। सरकारको निर्देशन अनुसार सरकारी तथा निजी विद्यालयले यही फागुन २८ गतेदेखि नै वार्षिक परीक्षा सञ्चालन गर्दैछन् ।
कोरोना नियन्त्रण र रोकथामका लागि विश्व बैंकबाट सहायता लिने संक्रमित मुलुकहरुमा स्वास्थ्य सचेतनासम्बन्धी काम गर्ने, प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्ने लगायतका निर्णय समेत बैठकले गरेको छ ।








प्रतिक्रिया