मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कने विश्वास व्यक्त गरेका छन् । 
 
पुनःमिर्गौला प्रत्यारोपणका लागि आज अस्पतालमा भर्ना हुनुअघि भिडियो सन्देश जारी गरी उनले भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर आफू अलप नहुने बताएका छन् । 
 
उनले भनेका छन्, “कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौँ, त्यसलाई ब्युँत्याउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईंहरु सबैले आफूलाई उभ्याउनुभयो, यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौँ, जसरी खेलका बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न, संसारमा कोही पनि अजम्बरी छैन, मेरो यो सङ्कल्प पनि अजम्बरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ, म पुनःएक पटक आग्रह गर्दछु मेरो स्वास्थ्यलाई लिएर यहाँ ढुक्क रहनुस् ।” 
 
आफ्नो सिङ्गो जीवन कहिले निरङ्कुशताविरुद्ध लोकतन्त्रका लागि सङ्घर्ष, कहिले राष्ट्रियहित तथा स्वाभिमानका लागि सङ्घर्ष, त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेसँगको सङ्घर्षलगायत कुनै न कुनै किसिमको सङ्घर्षमा बित्दै आएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । 
 
मुलुकमा व्याप्त यसप्रकार विविध समस्यासँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न बाध्य हुन पुगेको उल्लेख गर्दै उनले झण्डै १२ वर्षअघि आफ्ना दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साल साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको बताएका छन् । 
 
“त्यसबेला हाम्रो देश नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन, पर्सी फागुन २१ गते बुधबार फेरि मैलै मिर्गौला प्रत्यारोपण गराउँदैछु, त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछु, विज्ञान, आधुनिक प्रविधि ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले पहिले जस्तो जटिल मानिँदैन, यसपटकको मिर्गौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मकरुपमा सजिलो हुने मैले विश्वास लिएको छु”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । 
 
आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त भएकामा उनले गर्वका साथ खुशी व्यक्त गरेका छन् ।
 
उनले भनेका छन्, “भनिन्छ नि आशाको दियो बलिरह्यो भने शान्ति प्रेम र विश्वासको जग मजबुत तुल्याउनु सकिन्छ, हामीले देखेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु, यस बीचमा सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमितरुपमा अघि बढ्नेछन्, विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भैपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।” 
 
आफ्नो अस्पताल बसाइँको समयमा पार्टी र संसद् दुवैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता कार्यकर्ता सांसदहरु र लाखौँ पार्टी सदस्य निरन्तर क्रियाशील हुनेमा उनले विश्वास व्यक्त गरेका छन् । साथै, उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् । रासस

शेयर गर्नुहोस:

0
Shares