मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

सिन्धुपाल्चोकमा २०१ जनालाई भाइरल सङ्क्रमण, कोरोना भाइरस नभएको पुष्टि

सिन्धुपाल्चोकमा २०१ जनालाई भाइरल सङ्क्रमण, कोरोना भाइरस नभएको पुष्टि


सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा माघ २३ गतेदेखि १५० भन्दा बढीमा भाइरल सङ्क्रमण भएपछि सिंगो गाउँ नै त्रासमा छ । गाउँभरि नै रुघाखोकी र उच्च ज्वरोका बिरामी बढेपछि कोरोना भाइरस हो कि भन्ने त्रास बढेको थियो ।

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र बाग्मती प्रदेश सरकारलाई पत्र लेखेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले अध्ययन गर्दा कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार सो गाउँमा चीनबाट कोही कसैको आवतजावत नभएकाले कोरोना भाइरसको सङ्क्रमण नभएको बताएका हुन् ।

Advertisement

उनले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको बताए । सो क्षेत्रमा हाल देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार सुरु गरिएको छ ।

बिरामीमध्ये केहीलाई निकोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईंले बताए ।

साथै, त्यहाँको भाइरल सङ्क्रमणबारे जाँच गर्न आफूहरुले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यसतर्फ पठाउने जानकारी गराएको बताए ।

यसैबीच सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घन्टा पैदल दूरीमा छ । अहिले जलबिरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुगेका छन् ।

गाउँमा १५० मा रुघाखोकी र ज्वरो देखिएको तथा १० को उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँमा भाइरल सङ्क्रमण भएपछि कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचारसमेत गरको छ । सो स्थानमा विगत तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको हो ।

दुईजना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, मास्क र पञ्जा लिएर गुम्बा पुगिएको उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिए । बुधबार बिहानसम्म २०१ ले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन् । उनीहरुमध्ये १५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष श्रेष्ठले बताए । 

शेयर गर्नुहोस:

0
Shares