मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

राष्ट्रपति ट्रम्पलाई लगाइएको महाअभियोग सिनेटद्वारा अस्वीकृत

राष्ट्रपति ट्रम्पलाई लगाइएको महाअभियोग सिनेटद्वारा अस्वीकृत


अमेरिका – चार महिना देखि अमेरिकी सत्ता राजनीतिलाई नै हल्लाइरहेको महाअभियोग (इम्प्चमेण्ट) को विषय आजबाट शान्त हुने देखिएको छ। आज दिउॅसो अमेरिकी संसदको माथिल्लो सदन ‘सिनेट’को बहुमतले राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले(हाउस) लगाएको महाअभियोग अस्वीकृत गरिदिएको छ। 
 
नितान्त पार्टी लाईन अनुरुप भएको मतदान अन्तर्गत राष्ट्रपतिको संवैधानिक अधिकारको दुरुपयोग गरेको र संसदीय सुनुवाईमा अवरोध गरेको भनेर लगाइएको दुबै आरोपहरु माथि सिनेटमा भएको मतदानमा क्रमश: ४८-५२ र ४७-५३ को बहुमतले राष्ट्रपतिलाई निर्दोष घोषणा गरेको हो। 
 
 
रिपब्लिकनहरुको बहुमत रहेको सिनेटबाट राष्ट्रपतिले उन्मुक्ति पाउनेछन् भन्ने त पहिले नै निश्चित थियो र आज त्यसले औपचारिकता पाएको छ। डेमोक्रेटहरुको नियन्त्रणमा रहेको हाउसले लगाएको महाअभियोगलाई रिपब्लिकनहरुको बहुमत रहेको सिनेटले अस्वीकृत गरिदियो। 
 
सेप्टेम्वर २४, २०१९ मा स्पीकर न्यान्सी पोलोसीले राष्ट्रपति ट्रम्पका बिरुद्द महाअभियोगको अनुसन्धान गर्ने घोषणा गरेदेखि नै दलीय आधारमा बिभाजित अमेरिकी राजनीतिमा डेमोक्रेट र रिपव्लिकनहरुबीचको तनाव कति धेरै बढेको रहेछ भन्ने त ट्रम्पले हिजो मंगलवार संसदको संयुक्त बैठकलाई गरेको सम्वोधन ‘स्टेट अफ यूनियन’का बेला देखियो। 
 
 
सो अवसरमा राष्ट्रपति ट्रम्पले स्पीकर पेलोसीले हात मिलाउन बढाएको हात समेत बेवास्ता गर्दै उनीसंग हात मिलाउन चाहेनन् भने स्पीकर पेलोसीले पनि ट्रम्पको सम्वोधन सकिने बित्तिकै उनले दिएको सम्वोधन भाषणको प्रति च्यातेर एकातिर राखि दिईन्। 
 
राष्ट्रपति र स्पीकर दुबैको व्यवहार अमेरिकी राजनीतिमा अपेक्षित थिएन। यस्ता व्यवहारले समझदारी बढाउन भन्दा आपसी तिक्तता बढाउन सहयोगी हुने राजनीतिक विश्लेषकहरुले बताएका छन्। 
 
सिनेटको मतदानबाट निकै उद्देलित राष्ट्रपति ट्रम्पले भोली १२ बजे बिजय उत्सव मनाउन विशेष सार्वजनिक सम्वोधन गर्ने घोषणा केहीबेर अघि गरेका छन्। 
 
ट्वीट मार्फत गरिएको उनको घोषणामा भनिएको छ- ‘इम्पिचमेण्ट धोखाघडीबाट हाम्रो देशले पाएको बिजयका सन्दर्भमा भोली मध्यान्ह १२ बजे ह्वाइट हाउसबाट जनताका नाममा सम्वोधन गर्ने छु।’
 
तस्बिर: यूएसए टुडेको ट्वीटरबाट

शेयर गर्नुहोस:

0
Shares