काठमाडौँ । नेकपाको जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवादमा जान सुझाव दिएको छ ।
राष्ट्रियसभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहले आआफ्नो प्रतिवेदन पेश गर्दै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न पार्टी नेतृत्व र सरकारलाई सुझाव दिएको छ ।
ती समूहले समाजको चरित्र, व्याख्या विश्लेषण गरी नेपाली नमूनाको समाजवाद निर्माण गर्नुपर्ने मुख्य सुझाव दिएका छन् । समूहका ५ का नेता ठाकुर गैरे नेपाली विशेषतामा आधारित समाजवाद ल्याउन र समाजवादका आधार तयार गर्न सुझाव दिए ।
समूह १५ का नेता हिमाल शर्माले समाजवादतर्फ लैजान शिक्षा र स्वास्थ्यबाट सुरुआत गर्नुपर्ने बताए। उनले आफ्नो प्रतिवेदनमा शिक्षा र स्वास्थ्यलाई व्यापारको विषयवस्तु बनाउन नहुने सुझाव दिएको जानकारी दिए ।
“पार्टीका नेताले शिक्षा र स्वास्थ्यमा लगानी गरेका छन् । त्यो लगानी एक वर्षभित्र फिर्ता आउनुपर्दछ”, उनले भने, “यही आउनुहुन्न भने उहाँ केन्द्रीय सदस्यबाट हट्नुप¥यो । कि त शिक्षा र स्वास्थ्यमा व्यापार गर्नु भएन । पार्टीका नेता र उच्चपदस्थ कर्मचारीका छोराछोरी सरकारी स्कुलमा पढ्नुपर्ने व्यवस्था मिलाउनुपर्छ । ”
समूह ५ का नेता गैरेले भ्रष्टाचार ठूलो समस्या बनेकाले भ्रष्टाचारीलाई हदैसम्मको कारवाही गर्नुपर्ने व्यवस्था राखेर नियन्त्रण गर्नुपर्ने सुझाव दिए ।
“घुस लिँदालिँदै जनप्रतिनिधि पक्राउ पर्नु, नीतिगत भ्रष्टाचार, ठेक्कापट्टा जस्ता गैरराजनीतिक क्रियाकलापमा पार्टीका नेता कार्यकर्ताको नाम जोडिने कुराले ‘सरकारको भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने नारालाई कमजोर बनाएको छ”, उनले भने, “भ्रष्टाचार जघन्य अपराध हो, यस्तो काम गर्नेलाई मृत्युदण्ड दिनुपर्दछ भन्ने मतसमेत प्रकट भएको छ ।”
नेता गैरेले नेकपाका नेता कार्यकर्ताको जीवनशैली, चालचलन, आचारविचार, सरसम्बन्ध पूर्णरूपमा सरल र जनपक्षीय हुने कुरा सुनिश्चित गरिनुपर्ने आफ्नो प्रतिवेदनमा समेटेका छन् ।
समूह ३ का नेता खिमलाल भट्टराईले मुलुकमा भ्रष्टाचारमुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले मुलुकमा सुशासन कायम राख्न भ्रष्टाचार विरोधी अभियान पार्टी र सरकारले संचालन गर्नुपर्ने बताए । उनले भने, “सिङ्गो पार्टी नै परिचालन गरेर मुलुकलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउन अभियानमा सञ्चालन गर्नुपर्दछ ।”








प्रतिक्रिया