मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कोरोना भाइरसबाट कम्तीमा १३२ को मृत्यु, दुई दिनमै बन्यो हजार शैय्याको अस्पताल

कोरोना भाइरसबाट कम्तीमा १३२ को मृत्यु, दुई दिनमै बन्यो हजार शैय्याको अस्पताल


बेइजिङ । चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या कम्तीमा १३२ पुगेको छ । अत्यधिक रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार पुगेको अधिकारीहरुले जनाएको छ । चीन बाहिरको १७ ठाउँमा उक्त भाइरसका ७० भन्दा बढी घटना देखिएको पुष्टि भएको छ । 
 
चिनियाँ सरकारले कोरोना भाइरस नियन्त्रण गर्न चिनियाँ नयाँ वर्षको बिदा अझै थप गर्ने घोषणा गरेको छ। जनवरी ३० सम्म हुने नयाँ वर्षको बिदा थप गरेर फेब्रुअरीको दोस्रो सातासम्म धकेलिएको छ । चीनका राष्ट्रपति सि जिनपिङले कोरोना भाइरस तीव्र गतिमा फैलिएको कारण सावधानी अपानाउन चेतावनी दिएका छन् । 
 
चिनियाँ अधिकारीका अनुसार कोरोना भाइरस पहिलेको तुलनामा अझै छिटो फैलिरहेको छ ।
 
सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य आवतजावत हुने स्थानमा निगरानी बढाएको र सर्तकता अपनाउन आह्वान गरेको छ । भाइरस संक्रमणको प्रकोप चीनमामा मात्र कम्तीमा २७ प्रान्तमा फैलिएको छ । यसबाहेक अन्य १८ सहरमा यातायात विस्तार पूर्णरुपमा बन्द गरिएको छ ।
 
चिनियाँ अधिकारीहरुले यो नयाँ भाइरस मान्छेबाट मान्छेमा सर्ने तथा श्वासप्रश्वासमा संक्रमण गराउने पुष्टि गरेका छन् । हुबेइ प्रान्तको उहान सहरबाट विदेशीहरुको उद्धार गर्न सुरु गरिएको छ । चीनमा मृत्यु हुनेमा अधिकांश मानिसहरु हुबेइ प्रान्तकै रहेका छन् । सुरुमा मृत्यु हुनेमा पाको उमेरका बिरामी थिए । जसमा श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग भएका व्यक्ति थिए । 
 
विश्वस्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको लक्षण रुघाखोकीबाट सुरु हुन्छ । उक्त नयाँ भाइरस मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम जस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरुको ठूलो समूहको एक सदस्य हो । 
 
यसैबीच, कोरोना भाइरस नियन्त्रणका लागि चीनमा छिट्टै अन्तर्राष्ट्रिय विज्ञ पठाउने विषयमा चीनले सहमतिसमेत जनाएको छ । 
 
चीनले महामारीका रुपमा फैलिन सक्ने र अनियन्त्रित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै युद्धस्तरमा नियन्त्रण प्रयास थालनी गरेको छ । चीनका ६० मिलियन मानिस कोरोना भाइरसबाट प्रभावित हुने बताइएको छ । 
 
दुई दिनमै कोरोना अस्पताल
 
चीनले दुई दिनमै कोरोना भाइरस प्रभावितको उपचारका लागि अस्पताल निर्माण गरेको छ । चीनको उहान सहरमा एक हजार शय्याको अस्पताल पूर्णरुपमा सञ्चालनमा आएको हो ।
 
यो अस्पताल बुधबार बिहान साढे १० बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो । अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीलाई सारिएको छ । यस अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्ने लक्ष्य लिएको छ ।  कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको यो अस्पताल विश्वकै पहिलो हो ।
 
यो अस्पताल ह्वाङगाङ केन्द्रीय अस्पतालको नयाँ शाखा अस्पताल हो । अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर, शय्या थपेर २ दिनमै तयार गरिएको हो । मे महिनामा खुल्ने भनिएको यो अस्पताल कोरोना भाइरसको संक्रमण फैलिरहँदा रफ्तारमा खोलिएको हो ।
 
शुक्रबारमात्रै स्थानीय निकायले उक्त भवनलाई कोरोना भाइरसको संक्रमितका लागि उपचारका निम्ति प्रयोग गर्न दिने निर्णय गरेको थियो। त्यसपछि शनिबारबाट काम सुरु गरिएको थियो। सोमबारसम्म स्वयंसेवकले सबै शय्याहरुको व्यवस्था गरिसकेका थिए। त्यसैगरी पानी, बिजुली, इन्टरनेटको सुविधा पनि थपियो । 
 
५ सयभन्दा बढी कामदार तथा विभिन्न अत्याधुनिक उपरकरणको प्रयोग गरेर रातारात दुई दिनमा यो काम सम्पन्न गरिएको हो।ती सहरका सम्बन्धित अधिकारी भन्छन्,‘यो प्रोजेक्ट हामीले ४८ घण्टामा सम्पन्न गर्न सक्यौँ। यो सबैको हातेमालोले गर्दा सम्भव भएको हो।’
 
चीनको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित बुहान सहर ह्वाङगाङबाट ७५ किलामिटर टाढा छ। ह्वाङगाङको जनसंख्या ७५ लाख छ । मंगलबारसम्म ह्वाङगाङमा कोरोना भाइरसबाट ४ जनाको मृत्यु भइसकेको छ भने २१३ जना संक्रमित देखिएका छन् ।
 
चीनमा सन् २००३ मा ‘सार्स’ का कारण कम्तीमा ८०० मानिस मरेका थिए। त्यसबेला पनि बेइजिङले एक साताभित्रै उत्तरी गाउँमा ‘सिआताङ्सान अस्पताल’ निर्माण गरेको थियो । स्थापना भएको दुई महिनाभित्र उक्त अस्पतालले देशमा संक्रमित भेटिएकामध्ये १५ प्रतिशतको उपचार गरेको थियो ।
 
त्यस्ता अस्पताल अरु पनि निर्माण गरिने भएको छ । दुईवटा उहान र अर्को झेङ्जोमा । अरु बन्‍ने अस्पताल पनि यही मोडलका हुनेछन् । उहान सहरमा निर्माण गरिने अन्य दुईवटा अस्पतालमा पनि विशिष्ट प्रकारको सुविधाहरु हुनेछन् ।
 
फायर गड माउन्टेन अस्पताल निर्माण सुरु भएको ४ दिनमा पूरा हुँदैछ । त्यसैगरी वुहानमा निर्माण गरिने थन्डर गड माउन्टेन अस्तपताल जुन ज्याङजिया जिल्लामा तीव्ररुपमा निर्माण भइरहेको छ। सिन्हवा 

शेयर गर्नुहोस:

0
Shares