मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

काँग्रेसको विवाद सुल्झियो, ०७७ फागुनमै महाधिवेशन गर्ने सहमति

काँग्रेसको विवाद सुल्झियो, ०७७ फागुनमै महाधिवेशन गर्ने सहमति


काठमाडौँ । नेपाली काँग्रेसले एक महिनादेखि पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अग्रसरतामा शसक्रबार भएको शीर्ष नेताहरुको बैठकमा आन्तरिक विवाद समाधानका लागि सहमति भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । 
 
यसअघि सहमतिका लागि पार्टीका शीर्ष नेताबीच विभिन्न चरणमा छलफल भए पनि टुङ्गो लाग्न सकेको थिएन । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा शसक्रबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म भएको थियो । 
 
पार्टीको केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने, केन्द्रीय महाधिवेशनअघि विभिन्न तहका अधिवेशन तथा ती अधिवेशनका कार्यतालिका र कार्यविधिका सम्बन्धमा परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति भएको उपसभापति निधिले बताए । 
 
बैठकले पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, छ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका विषयमा सहमति गरेको छ । 
 
नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको केन्द्रीय समिति विघटन भएको दिनसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसंघको आगामी १२ औँ महाधिवेशनमा भाग लिन पाउने सहमति भएको छ । साथै तदर्थ समितिमा बस्ने पदाधिकारी र सदस्य नेविसंघको आगामी महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन् ।
 
सहमति भएका यी सबै प्रस्ताव काँग्रेसको यही माघ १३ गते बस्ने केन्द्रीय समिति बैठकमा सर्वसम्मतिबाट पारित गर्ने सहमति भएको उपसभापति निधिले जानकारी दिए । काँग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको थियो ।
 
वरिष्ठ नेता पौडेल पक्षको अनुपस्थितिमा बसेको केन्द्रीय समितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, पार्टीको विभिन्न तहका अधिवेशन गर्ने कार्यतालिका र विधानका केही दफा निलम्बन गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्नेलगायतका निर्णय गरेको थियो । 
 
शुक्रबार सहमति भएका विषयलाई केन्द्रीय समितिबाट पारित गर्न काँग्रेसले यही माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

शेयर गर्नुहोस:

0
Shares