मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ कायम गरिने

प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ कायम गरिने


हेटौँडा । प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । 
 
पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । 
 
उनले विगतमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो हिसाबले मन्तव्य र विचार व्यक्त गरेको भए पनि एक भएर राजधानी र नामकरण टुङ्ग्याउने सहमति भएको बताइन् । दलको निर्णयअनुसार नै मतदान हुने हुँदा ‘ह्वीप’ वा दण्डको डर वा त्रास देखाउने अवस्था नरहेको उनले बताइन् ।
 
 मुख्यमन्त्री डोरमणि पौडेलले संसद्मा एउटामात्र प्रस्ताव लैजाने सहमति भएको जानकारी दिए । ‘दलको बैठकमा प्रदेशसभा सदस्यको  धारणा सुनेपछि संसद्मा राजधानी हेटौँडा र नाम वाग्मतीमात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसम्मत भएको छ’, मुख्यमन्त्री पौडेलले भने ।
 
राजधानी र नाममा एउटा–एउटामात्र प्रस्ताव पेश गर्न राखिएको प्रस्ताव सर्वसम्मतरूपमा पास भएको उनले बताए । यही पुस २७ गते प्रदेश नं ३ ले स्थायी राजधानी मकवानपुरको हेटौँडा र नाम वाग्मती पाउने पौडेलको भनाइ छ । 
 
विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौँडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले जानकारी दिए । 
 
हेटौँडालाई राजधानी बनाउँदा समृद्ध नेपाल बनाउने अभियानमा धेरै हिसाबले बल पुग्ने र थुप्रै रणनीतिक कारण पनि हेटौँडा उपयुक्त हुने उनको भनाइ थियो । 
 
“नेकपाको संसदीय दलले एक ढिक्का र एकमतका साथ जाने निर्णय गरेको छ”, उनले भने । ह्वीप नलगाउँदा ‘फ्लोरक्रस’ हुन्छ कि ? भन्ने प्रश्नमा अध्यक्ष दाहालले कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको कारण पार्टीको निर्णय नमान्ने भन्ने कुरा नहुने बताए ।
 
प्रदेशसभामा नेकपाका ८०, नेपाली काँग्रसका २२, विवेकशील नेपालीका तीन, राप्रपाका एक, राप्रपा (संयुक्त)का एक र नयाँ शक्तिका एक सदस्य छन् ।

शेयर गर्नुहोस:

0
Shares