दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टी नेतृत्व एकलौटी चल्न खोजे पार्टीलाई घाटा पुग्ने बताएका छन् ।
नेपाली काँग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान नेतृत्व एकलौटी ढङ्गबाट अगाडि बढ्न खोजेको आरोप लगाए ।
नेता केसीले विधि, विधान मिचेर अगाडि बढ्दा समस्या उत्पन्न हुने भन्दै सहमतिबाटै पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए । “पार्टी सभापति शेरबहादुर देउवा पार्टीको महाधिवेशन प्रभावित पर्न लागि परेको छ”, उनले भने, “सहमति र सहकार्यबाटै अगाडि बढ्न सकेमात्रै पार्टीको हित हुन्छ ।” नेता केसीले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।
तनहुँको ब्यास नगरपालिका–३ स्थित सत्यवती बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने बताए ।
नेता केसीले सहकारी देश विकासको खम्बा भएकाले अनुत्पादक क्षेत्रभन्दा उत्पादनशील क्षेत्रमा लगानी बढाएमात्रै समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाली काँग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, तनहुँ सहकारी सङ्घका अध्यक्ष श्रीप्रसाद भट्टराई लगायतले यसलाई नमूना सहकारीको रुपमा विकास गर्नुपर्ने बताए ।
‘हाम्रो भरोसा हाम्रो पहिचान, सत्यवती सहकारी साझा अभियान’ भन्ने मूल नारालाई आत्मसात गरी समुदायमा रहेका सर्वसाधारण जनताको आर्थिकस्थिति मजबुत बनाउन, समुदायमा छरिएर रहेका निस्कृय पूँजीलाई एकीकृत गरी योजनागत रुपमा व्यक्ति तथा सामूहिक लगानी गरी सदस्यहरुको आर्थिक, सामाजिक, शैक्षिक विकासका लागि लगानी गर्न सहकारीले काम गर्दै आएको सहकारीका अध्यक्ष सूर्यचन्द्र हड्खलेले जानकारी दिए ।
नौ सय १४ शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी रु ९७ लाख ९२ हजार रहेको छ । चालू आवमा शेयर सदस्य एक हजार एक सय र शेयर पूँजी रु एक करोड ५० लाख पु¥याउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा असल ऋणीको रुपमा धनराज क्षेत्री, उत्कृष्ट वचतकर्ताका रुपमा सरस्वती न्यौपाने, उत्कृष्ट दैनिक बचतकर्ताको रुपमा रमा वाग्ले, ज्येष्ठ नागरिक बचतकर्ताको रुपमा रुद्रनिधि लौडारी र उत्कृष्ट कर्मचारीको रुपमा मिना कुँवर क्षेत्रीलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया