सुनसरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सँधै लडिरहने बताएका छन् ।
नेपाली काँग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आयोजित ४४औँं राष्ट्रिय एकता तथा मेलमिलाप एवं सम्मान कार्यक्रममा उनले काँग्रेसको मूल उद्देश्य नै प्रजातन्त्रको रक्षा गर्नु भएकाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस हरसम्भव लागिरहने बताए ।
प्रजातन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रसँग लडाइँ लडेको बताउँदै उनले अबको दिनमा सरकारसँग पनि लडाइ लड्ने दिन आएको बताए ।
प्रजातन्त्र विरुद्धमा लाग्ने जो कोहीसँग पनि काँग्रेस लडाइ लड्न तयार रहेको सभापति देउवाले उल्लेख गरे ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीका नेता अहिलेको सरकारको विरुद्धमा बोल्नका लागि थुरथुर काम्ने गरेको तर आफूविरुद्ध जथाभावी बोल्ने गरेको आरोपसमेत लगाए ।
अहिले सरकारले संसदमा दर्ता गरेको सञ्चारसम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने सभापति देउवाले ठोकुवा गरे ।
उनले नेकपाले अहिलेसम्म सभामुखको उम्मेदवार चयन गर्न नसकेकाले काँगे्रस सभामुख दिए भोलि नै उम्मेद्ववारी दिने उल्लेख गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले प्रजातन्त्र ल्याउनका लागि आफूसहितका नेताले विभिन्न चुनौतीको सामना गर्दै भारतमा पुनर्वास जीवन बिताएकाले यसको रक्षाका लागि सँधै लडिरहने उल्लेख गरे ।
अहिलेको अवस्थामा नेपाली काँग्रेसमा बीपी कोइराला र गणेशमान सिंहमा भएको एकताजस्तै पार्टीभित्र पनि अन्य नेतामा एकता हुनुपर्नेमा जोड दिए ।








प्रतिक्रिया