मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपाको स्थायी कमिटी बैठकद्वारा भारतीय नक्सा अमान्य ठहर

नेकपाको स्थायी कमिटी बैठकद्वारा भारतीय नक्सा अमान्य ठहर


काठमाडौँ-  नेकपाको स्थायी कमिटीको बैठकले हालै लिम्पियाधुरा उद्गमस्थल रहेको कालीनदी पूर्वको नेपाली भू–भागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अस्वीकार र अमान्य घोषणा गरेको छ । 
 
नेपालीे भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण जनाउँदै अतिक्रमित भू–भाग फिर्ता गर्न, त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन आवश्यक कदम चाल्ने निर्णय गरेको छ । 
 
नेपाल–भारत समस्याका सम्बन्धमा विगतमा परराष्ट्र सचिवस्तरीय संयन्त्रमा छलफल गरी समस्या समाधान गर्ने सहमति र प्रयास भइरहेकामा त्यस विपरीत प्रकाशित नक्शा आपत्तिजनक रहेको बैठकले ठहर गरेको छ । यस समस्याको छिटो समाधान गर्न आवश्यक कूटनीतिक र राजनीतिक प्रयास हुनुपर्नेमा बैठकले जोड दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
“यस सन्दर्भमा नेपाल सरकारले लिएको अडान, सबै राजनीतिक दल, सङ्घ–संस्था र सरोकारवालासँग गरेको सर्वपक्षीय तथा सर्वदलीय बैठकको आयोजना र त्यसमार्फत् सिङ्गो देशको एउटै दृष्टिकोण, धारणा तथा अडान बनाउन गरेको पहललाई बैठकले उचित कदमका रूपमा लिएको छ । यसरी सिङ्गो राष्ट्रको साझा अडान बनाउन सहयोगी भूमिका खेल्ने सबै राजनीतिक दल र पक्षलाई बैठकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ”, विज्ञप्तिमा भनिएको छ । 
 
बैठकले पार्टी केन्द्रीय कार्यालय भवन अविलम्ब निर्माण गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न स्थानमा सिमाना र दसगजा मिचिएको तथा नेपालले आफ्नो भू–भागमा गर्न लागेका निर्माण कार्यमासमेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकाले यस विषयमा तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

शेयर गर्नुहोस:

0
Shares