मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अत्यधिक चिसो बढेपछि विद्यालयमा बिदा दिने निर्णय

अत्यधिक चिसो बढेपछि विद्यालयमा बिदा दिने निर्णय


कञ्चनपुर । अत्यधिक चिसो बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ । दुई दिनदेखि शीतलहरसँगै चिसो बढेसँगै यही पुस ३ र ४ गते नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको हो ।
 
चिसो बढेपछि बालबालिकालाई विद्यालय जान अप्ठ्यारो हुनुका साथै कक्षा कोठामै चिसोका कारण पठनपाठनमा बाधा पुग्न थालेपछि बिदा दिने निर्णय गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । नगरपालिका क्षेत्रका सबै विद्यालयलाई बिदा दिने निर्णयबारे जानकारीसमेत दिइएको छ । भीमदत्तसँगै शुक्लाफाँटा नगरपालिका क्षेत्रका निजी विद्यालयले पनि विद्यालयमा चार दिन बिदा दिएका छन् । 
 
चिसो मौसमको सुरुवातसँगै पश्चिम तराईमा शीतलहर शुरु भएको छ । बाक्लो हुस्सुसँगै हावा चल्दा शीतलहर सुरु भएको हो । गत सोमबारदेखि जाडो बढे पनि बुधबारदेखिको चिसो सिरेटोले जनजीवन कष्टकर बनेको छ ।
 
कठ्याङग्रिने जाडाले सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका र मजदूर वर्गलाई असर पु¥याएको छ । शीतलहरका कारण यसवर्ष सबैभन्दा बढी चिसो मङ्गलबार र बुधबार मापन गरिएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले जनाएको छ । 
 
चार दिन अघिसम्म अधिकतम २३ डिग्री सेल्सियस तापक्रम रहेको कैलालीमा आज  न्यूनतम तापक्रम १२ डिग्री र अधिकतम १५ डिग्री सेल्सियस रहेको छ । अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडोको महसुस बढी हुने गर्दछ । 
 
चिसोका कारण बजार क्षेत्रमा चहल पहलमा कमी आएको छ । यस्तो मौसममा कोल्ड डायरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीका बिरामीलाई बढी सताउने हुँदा चिसोबाट जोगिन सर्वसाधारणलाई चिकित्सकले सुझाएका छन् । 
 
महोत्तरीमा चिसोले जनजीवन प्रभावित
 
महोत्तरीसहितका मध्यपूर्वी तराईमा पनि चिसोको कहर निकै बढेको छ । मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो ।
 
मङ्गलबार अपराह्नपछि घाम देखिन छाडेर लगातार तुसारो परेसँगै चिसो सिरेटो चलिरहेको छ । यसअघि गत शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको पानीले बढाएको चिसो मङ्गलबार अपराह्नपछिको तुसारोसहितको सिरेटोले झनै बढाएको हो । महोत्तरीको पूर्वपश्चिम राजमार्ग वरपर तुसारोसँगै सिरेटो चलेको छ भने मध्य र दक्षिणी क्षेत्रमा भने बाक्लो हुस्सुले ढाकेको छ ।
 
तुसारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारु चहलपहल स्वात्तै घटेको छ । एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषिकार्य पनि प्रभावित भएका छन् । लगातारको चिसो सिरेटोले घरपालुवा पशुवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानले बताएका छन् ।
 
बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरीटोलका पिर्ता सादा मुसहरले बताए । 
 
चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र स–साना नानीहरूको स्याहारसम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरू बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् ।
 
यसैबीच, महोत्तरीका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै घरवरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । 
 
यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले बताए । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने डा झाको भनाइ छ ।
 
चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरीब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक संघसंस्थाले आग्रह गरेका छन् ।