मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार पक्राउ

विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार पक्राउ


बारा । विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेहरुमा नाइके परवानीपुर गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, सोही ठाउँ बस्ने २० वर्षीय देवशङ्कर राम, जीतपुरसिमरा उपमहानगरपालिका–२० बस्ने २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाउँपालिका–३ बस्ने ३९ वर्षीय दीपेन्द्रकुमार धानुक रहेको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । 
 
परवानीपुरमा रहेको एमएस इँट्टा उद्योगका सञ्चालक कलैया उपमहानगरपालिका–२५ बस्ने मनोज साह तेलीलाई प्रमोदले पटक पटक फोन गरी फिरौती रकम माग गरेका थिए । 
 
माग गरिएको रु १५ लाख दिन नसक्दा सोही इँट्टा उद्योगमा २०७६ कात्तिक ४ गते उनकै समूहले बम विस्फोट गराई पुनः फिरौती माग गर्दै नदिए परिवारलाई समेत खतरा हुने धम्की दिएका थिए । 
 
पक्राउ परेका चारैजनाको विगतको आरचण राम्रो नरहेको र हातहतियार मुद्दामा पक्राउ परी जेल सजायसमेत भइसकेकाहरु रहेको प्रहरी उपरीक्षक खनालले बताए । 
 
प्रमोदका साथबाट तीन थान मोबाइलसमेत बरामद भएको छ । एउटाले फोन गर्ने अर्को नम्बरबाट फिरौती माग गर्नेजस्ता कामहरु गरिरहेका थिए । 
 
उनले बम विस्फोट वीरगञ्ज उपमहानगरपालिका वडा नं ८ बाट नलकटुवा बन्दुक एक, सोमा लाग्ने तीन थान गोलीसहित पक्राउ परी हातहतियार तथा खरखजना मुद्दामा सजाय भोगिसकेका छन् । 
 
अर्का गोसाई भने नारायणी आयल रिफाइनरीबाट रु २५ हजार फिरौती लिइसकेको स्वीकार गरेको सो अवसरमा उपरीक्षक खनालले जानकारी दिए । 
 
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक खनालले फिरौती रकम यदि कसैले माग गरेको छ या माग्दैछन् भने सोको जानकारी प्रहरी कार्यालय वा पायक पर्ने नजीकको प्रहरी युनिटहरुमा दिनका लागि प्रहरी उपरीक्षक खनालले आग्रहसमेत गरेका छन् । 
 
पक्राउ परेका चारै जनालाई अदालतबाट पाँच दिनको म्याद लिई मुलकी अपराधसंहिता २०७४ को परिच्छेद २१ दफा २५३ बमोजिम अपराधी लाभ कसुर मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शेयर गर्नुहोस:

0
Shares