मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोन्द्राङ ढाट प्रकरणका नौ आरोपितले पाए सफाइ

गोन्द्राङ ढाट प्रकरणका नौ आरोपितले पाए सफाइ


चितवन । भरतपुर महानगरको वडा नं ९ मा रहेको गोन्द्राङ ढाट प्रकरणका नौ आरोपितले सफाइ पाएका छन् ।
 
२०७६ जेठ ३ गते ढाट स्थानान्तरण गर्नुपर्ने विषयमा आक्रोशित पूर्वी चितवनका स्थानीय तथा व्यवसायीहरुले ढाटमा आगजनी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय चितवनमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
 
उक्त घटनामा दोषी रहेको भन्दै ठाटका ठेकेदार अमृत भट्टचन र प्रहरी निरीक्षक राजकुमार थापाले उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, खिलप्रसाद घिमिरे, कुलप्रसाद शर्मा, रामचन्द्र पाठक, विष्णु लम्साल, सरोज तिमल्सिना, विजय खनाल र विष्णु ढुंगानाविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेका थिए । मुद्दाका नौ आरोपितले सफाइ पाएका छन् ।
 
पूर्वी चितवनका स्थानीय एवम् व्यवसायीहरु सदरमुकाम भरतपुर आउजाउ गर्दा ढाटमा लिने दस्तुरका विषयमा विवाद उत्पन्न हुँदा आक्रोशित भीडले ढाटमा आगजनी गरेको थियो । उक्त प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत असई कल्पना खड्का जलेर घाइते भएकी थिइन् । उनी चितवन मेडिकल कलेज भरतपुरमा लामो उपचारपश्चात् डिस्चार्ज भएकी थिइन् । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।
 
प्रदेश सांसद कृष्ण खनालकै उपस्थितिमा भएको भनिएको घटनामा आगोले जलेर ड्यूटीमा खटिएकी महिला प्रहरी कल्पना खड्का घाइते भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा प्रजिअ जितेन्द्र बस्नेतको अध्यक्षतामा बसेको सर्वदलीयरसर्वपक्षीय बैठकले राजनीतिक आधारमा कसैलाई पनि संरक्षण नगर्ने गरी कारबाही गर्न सहमति भएको थियो । तत्कालीन चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सांसदकै उपस्थितिमा जघन्य अपराध भएको भन्दै यस्ता गतिविधि सह्य नहुने बताएका थिए ।
 
बैठकमा सांसद घनश्याम दाहाल, गीता वाग्ले, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, नेकपाका नेता तेजेन्द्रबहादुर खड्का, कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको उपस्थितिमा सर्वपक्षीय छलफलमा पाँच बुँदे निर्णय गरिएको थियो ।
 
जिल्ला प्रशासन कार्यालयमा मंसिर ४ गते भएको फैसलामा घटनाबारे लामो समयदेखि सुक्ष्म अनुसन्धानबाट निजहरुको संलग्नता पुष्टि नभएकाले मुद्दाका आरोपित सबैले सफाइ पाएको प्रशासनका मुद्दा शाखाका नायब सुब्बा बाबुराम पराजुलीले जानकारी दिए ।
 
यसैबीच, सो घटनामा आफ्नो कुनै संलग्नता नरहे पनि अनावश्यकरुपमा मुद्दा खेप्नुपरे पनि न्यायको पक्षमा फैसला भएकोमा न्यायको जीत भएको उवासंघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले बताए ।
 
स्मरणरहोस्, सो ढाट राप्ती नगरपालिका वडा नं ४ स्थित डडुवामा स्थानान्तरण हुनुपर्ने भन्दै चौतर्फीरुपमा आवाज उठेको थियो । ढाट प्रकरणमा सांसदको समेत संलग्नता रहेको आरोप लागेपछि प्रदेश सांसद् कृष्णप्रसाद खनालले आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएका थिए । उनले जेठ ३ गते दासढुंगामा मदन(आश्रितको स्मृति दिवस कार्यक्रममा गएर फर्किंनेक्रममा आफू ढाटमा आइपुगेको बेला घटना भएको स्पष्टोक्ति दिएका थिए ।
 
सो प्रकरणपश्चात् ढाट सार्ने विषयले संसदमा समेत प्रवेश पाएको थियो । ढाट प्रकरणले चितवनका सांसदहरुको समेत टाउको दुखाएको थियो । सो प्रकरणलाई कतिपयले राजनीतिक रंग दिने र आफ्नो अभीष्ट पूरा गर्ने दाउ पनि गरेका थिए । चितवनका सांसद् एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत ढाट सार्ने विषयमा पहल भइरहेको बताएका थिए ।
 
गोन्द्राङ ढाट प्रकरणका नौ आरोपितले सफाइ पाएसँगै सो घटनाको टाउको दुखाइ अन्त्य भएको छ भने ढाट सार्ने अभियानका लागि भने थप बल पुगेको छ ।

शेयर गर्नुहोस:

0
Shares