मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

३७ जिल्लाका उपनिर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खस्यो

३७ जिल्लाका उपनिर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खस्यो


काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३  प्रतिशत मत खसेको छ । 
 
अत्यन्त  शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा सम्पन्न भएको उपनिर्वाचनमा दुई लाख ९७ हजार १३७ जनाले  मतदान गरेको हुँदा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
 
उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेका थिए । आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ ।
 
स्थानीय तहका सदस्यतर्फ धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ ।
 
उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षको लागि भएको मतदानमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको आयोगले आज साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 
 
सुरक्षा अवस्था निकै सुदृढ रहेकाकारण केही सामान्य छिटफुट घटनाबाहेक मतदाताको व्यापक सहभागितामा उत्साह र  अत्यन्त शान्तिपूर्ण वातावरणमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
 
यद्यपि, मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटीलगायत जिल्लामा मतदान केन्द्र नजिक सामान्य विस्फोटका छिटपुट घटना भएतापनि यसबाट मतदानमा कुनै नकारात्मक प्रभाव परेको थिएन ।
 
उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउने आम मतदाता, उम्मेदवार, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षण संस्था, निकाय तथा व्यक्ति सबैलाई आयोगले पत्रकार सम्मेलनमार्फत धन्यवाद ज्ञापन गरेको छ ।
 
कतिपय मतदान केन्द्रमा बिहान सबेरैदेखि निकै अनुशासित र उत्साहका साथ मतदाता पंक्तिबद्ध भएर बसेका थिए भने  चिसोका कारण केही मतदान केन्द्रमा भने दिउँसो मतदाताको घुइँचो लागेको थियो । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्या उलेख्य रहेको देखिन्थ्यो ।
 
मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्यतर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । 
 
कास्की–२ मा प्रतिनिधिसभा, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष चयनका लागि यो निर्वाचन भएको हो । उपनिर्वाचनमार्फत ४३  वडाध्यक्ष पनि चुनिनेछन् ।
 
आगामी १२ घन्टाभित्र ५० प्रतिशतको नतिजा सार्वजनिक भइसक्ने अनुमान गरिएको छ । तस्बिर : प्रेम रौले (रासस)

शेयर गर्नुहोस:

0
Shares