मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लैङ्गिक हिंसाविरुद्धकोे १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्धकोे १६ दिने अभियान सुरु


रुपन्देही । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ । “समानताको पुस्ता : बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मूलनारा यहाँका स्थानीय तहले पनि अभियानको थालनी गरेका छन् ।
 
रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना, देवदह र सिद्धार्थ नगरपालिकाले औपचारिक कार्यक्रम गरी अभियानको शुरुवात गरेका छन् । 
 
यहाँका अधिकांश स्थानीय तहले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धतासहित औपचारिक कार्यक्रम गरेर अभियानको शुभारम्भ गरे । अभियानका क्रममा रुपन्देहीका नगरपालिका र गाउँपालिकाले सचेतनाका कार्यक्रमलाई बढी जोड दिएका छन् । 
 
व्यक्तिको सोच परिवर्तन नहुँदासम्म हिंसा नियन्त्रणमा समस्या रहेकाले पहिलो प्राथमिकता सचेतनामूलक कार्यक्रमलाई दिइएको छ । ‘समानताको पुस्ताः बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नारासहित जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएकाले यस वर्षको नारा बलात्कार केन्द्रित बनाइको हो ।
 
बुटवल उपमहानगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गरेको छ । अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लैङ्गिक हिंसा नियन्त्रणका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताइन् ।
हिंसामुक्त बुटवल शहर निर्माणका लागि परिवार, विद्यालय र समुदायमा सचेतना फैलाउने काम भइरहेको भन्दै उनले यसका लागि सबै प्रतिबद्ध भएर सहयोग गर्नुपर्ने बताइन् ।
 
विद्यालयलाई लैङ्गिकमैत्री बनाउन बुटवल उपमहानगरपालिकाले आज विद्यालयका प्रधानाध्यापकसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उनले विद्यालयमा स्वतन्त्र र भयरहित वातावरण सिर्जना गरी बालबालिका तथा किशोरकिशोरीको पठनपाठनलाई प्रभावकारी बनाउन लैङ्गिकमैत्री विद्यालय आवश्यक रहेको बताइन् । 
 
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले विद्यालयमा हुनसक्ने हिंसाका घटना रोक्न सचेतना आवश्यक रहेको बताए । 
 
लैङ्गिकमैत्री विद्यालय सम्बन्धमा प्रस्तुतीकरण गर्दै सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्याल र शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले परिवार, विद्यालय र समाजमा लैङ्गिकमैत्री वातावरण निर्माणका लागि सोच, प्रवृत्ति र व्यवहार सुधार गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयमा बालबालिकाले खुलेर आफ्ना समस्या राख्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । 
 
यसैगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अन्तक्र्रिया कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको अभियानको शुरुवात गरेको छ । परिवर्तनको शुरुवात आफैंबाट गरौं भन्ने मानसिकताका साथ नगरका कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन नगरपालिकाको कार्यालयबाटै कार्यक्रम गरेर अभियानको थालनी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम आर्यालले बताए ।
 
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज कार्यालयमा हस्ताक्षर सङ्कलन गरेको छ । हिंसा अन्त्यका लागि प्रतिबद्धतासहित कार्यालयमा ब्यानर राखेर हस्ताक्षर सङ्कलन गरिएको उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन् । 
 
नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको अभियानका अवसरमा मङ्गलबारदेखि १७ वटै वडामा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । नगरका सबै वडामा लैङ्गिक हिंसा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको उपप्रमुख चौधरीले बताइन् । 
 
यस्तै १६ दिने अभियानका क्रममा सैनामैना नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यका लागि हस्ताक्षर सङ्कलन गरेको छ । हिंसा अन्त्यका लागि नगरवासीलाई प्रतिबद्ध बनाउन हस्ताक्षर सङ्कलन गरिएको उपप्रमुख बिना रानाले जानकारी दिनुभयो । कार्यक्रममा सरोकारवालाले “म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्नेछु” भन्ने प्रतिबद्धता जनाएका थिए ।
 
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा रुपन्देहीको देवदह नगरपालिकाले प्रभातफेरी निकालेको छ । प्लेकार्डसहित देवदहको खैरेनीचोकबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गरी शीतलनगरमा पुगेर सभामा परिणत भएको थियो । 
 
प्रभातफेरीमा विभिन्न सङ्घ संस्था, किशोरी समूह, आमा समूह, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको नगरका उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिनुभयो । सोह्र दिने अभियानका क्रममा देवदह नगरपालिकाले सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ ।
 
अभियानका  क्रममा शङ्करपुरमा सडक नाटक प्रदर्शन, महिला सशक्तिकरण तालिम आयोजना गरिएको उपप्रमुख गुरुङले बताइन् । 
 
जिल्लामा अन्य नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरुवात गरिरहँदा लुम्बिनी सांस्कृतिक नगरपालिकाले भने कुनै योजना नै बनाएको छैन् । कर्मचारी अभावका कारण नगरपालिकाले कुनै योजना बनाउन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिए । 
 
“सामाजिक विकास शाखामा एउटा कर्मचारी छैन, न अरु शाखामा काम गर्ने कर्मचारी छन्, कसरी कार्यक्रम गर्ने ? उनले भने, ‘‘कर्मचारी अभावले नगरका गतिविधि अगाडि बढाउन समस्या छ ।” अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको परिचयपत्र समेत वितरण गर्न नसकिएको गुनासो गर्दै उनले जनताको भार थेग्न नसकेका कारण कार्यालयमा ताला लगाएरै हिँड्नुपर्ने परिस्थिति सिर्जना भएको गुनासो गरे । 
 
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत रुपन्देहीका गाउँपालिकाहरुले पनि चेतनामूलक कार्यक्रम गर्ने जनाएका छन् । सियारी गाउँपालिकाले प्रत्येक वडामा कानूनी सचेतनाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको गाउँपालिकाका उपप्रमुख अमृता गुरुङले जानकारी दिइन् । 
 
कानूनका विषयमा स्थानीयवासीलाई बुझाउन जरुरी रहेकाले यस वर्षको अभियान कानूनी साक्षरतामा केन्द्रित गरेको उनले बताइन् । रासस

शेयर गर्नुहोस:

0
Shares