चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने दाबी गरेका छन् ।
नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको एक इन्च जमिन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने प्रतिबद्धता जनाएका हुन् ।
उनले भने, “सरकारले यसको कूटनीतिक पहल सुुरु गरिसकेको छ । नेपालको भूिम फिर्ता भएरै छाड्छ ।”
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको आरोप लगाउँदै भने, “अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो ।”
दुई पार्टीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै देशमा समृद्धि, सुशासन, स्थायित्व र विकासका लागि भएको उनको दाबी थियो । उनले पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थका लागि नभएको पनि बताए ।
उनले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको पनि बताए । उनले थपे, “प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष सरकारको नेतृत्वमार्फत राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढीकरण र संगठन विस्तारमा केन्द्रित हुन्छु ।”
अध्यक्ष दाहालले आसन्न उपनिर्वाचनमा ८० प्रतिशतभन्दा बढी स्थानमा नेकपाले विजय हासिल गर्ने दाबीसमेत गरे । नेकपाको नेतृत्वमा गठित सरकारले देशको योजनाबद्ध विकासमा खेलेको भूमिकाका कारण देखिएको जनलहर देखेर प्रतिक्रियावादी अनर्गल प्रचारमा लागेको उनको आरोप थियो ।
चितवन क्षेत्र नं–३ का निर्वाचित सांसदसमेत रहेका दाहालले आफ्नो पहलमा भएका विकास निर्माणका कार्यहरु र भावी योजनाबारे चर्चा गरे ।
निर्वाचन परिचालन समितिकी संयोजक दिलकुमारी थापा रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं ३ का सह–इन्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेशसभा सदस्य कृष्ण भूर्तेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेकपाबाट वडाध्यक्षका उम्मेदवार भक्तराज हमाललगायतले बोलेका थिए ।








प्रतिक्रिया