चितवन । चितवन मेडिकल कलेजमा गठन भएको चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा आज यहाँ बृहत् प्रदर्शन भएको छ ।
मेडिकल कलेजहरूले असुल गरेको गैरकानूनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो ।
वीरेन्द्र क्याम्पसबाट सुरु भएको प्रदर्शनले बजार परिक्रमा गरेको थियो । विरोध र्यालीपछि आयोजित कोणसभामा अभिभावक विष्णुप्रसाद ओली र विद्यार्थी मान्यता थापाले बढी शुल्क असुल गर्ने कलेजहरुलाई कडा कारबाही गरिनुपर्ने माग गरे ।
मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले बढी उठाएको शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो । त्यो समय सोमबार सकिँदैछ ।
विद्यार्थीका अनुसार अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेको छैन । शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानुनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारबाही गर्ने जनाएको छ ।
यसैबीच, शनिबार चितवन मेडिकल कलेजको कैलाशनगरमा रहेको कलेज परिसरबाट पेस्तोल र गोली भेटिएको भन्दै प्रहरीले विशेष निगरानी बढाएको छ । पेस्तोल कसले राखेको भन्ने विषयमा प्रहरीले अध्ययन थालेको छ ।








प्रतिक्रिया