मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भक्तपुर क्यान्सर अस्पताल तनावग्रस्त

भक्तपुर क्यान्सर अस्पताल तनावग्रस्त


भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले अस्पतालको नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्त गरी आज अस्पतालमा पदवाहाली गर्न पठाएपछि भक्तपुर क्यान्सर अस्पताल तनावग्रस्त बनेको छ । 
 
नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टरलाई पदवाहाली गर्न नदिएपछि विवाद भएको हो । विवाद झडपमा परिणत हुँदा उपचार गर्न आएका बिरामी र उनीहरुका कुरुवाको भागदौड चलेको छ । 
 
अस्पतालको पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रुपेश शिलाकार र मेडिकल डाइरेक्टरमा डा दिपेश धिताललाई नियुक्त गरे लगत्तै पदवाहाली गर्न आएपछि कर्मचारीले विरोध गरेका हुन् । 
 
हाल अस्पतालमा मेडिकल डाइरेक्टरको जिम्मेवारी सम्हाल्दै आएका डा ऋषिकेश नारायण श्रेष्ठको ‘नेम प्लेट’ हटाएर नयाँको नेम प्लेट राखेर पदवाहाली गर्ने क्रममा औपचारिक कार्यक्रम भइरहँदा कर्मचारी टोलीले ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै अस्पतालमा नारावाजी गरेका थिए । 
 
स्थिति तनावग्रस्त बनेपछि अस्पतलाको पुरानो व्यवस्थापन समितिका कोषाध्यक्ष केपी ताम्राकार, महासचिव विमल होडा, सचिव महेश श्रेष्ठ, नयाँ कार्यकारी निर्देशक शिलाकार, नयाँ मेडिकल डाइरेक्टर डा धिताललगायतलाई अस्पतालको कार्यक्रम हलमै दुई घन्टासम्म बन्द गरिएको थियो । 
 
स्थानीयवासीले अस्पताललाई घेराबन्दीमा राखेर अस्पताल प्राङ्गणमा तथा कर्मचारीले अस्पताल प्रशासनमा नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेका थिए । 
 
अस्पतालमा स्थिति असहज बन्दै झडप भएपछि पदवाहाली नगरी बन्द कोठामा रहेकालाई प्रहरीले बाहिर निकालेर सुरक्षित स्थानतर्फ लैजाने क्रममा अस्पताल प्राङ्गणमै उनीहरुमाथि आक्रमण भएको थियो । 
 
आक्रमणसँगै अस्पतालबाट पुरानो व्यवस्थापनका पदाधिकारी र नयाँ नियुक्ति पाएकालाई व्यासीसम्म लखेटी शिलाकार र होडामाथि आक्रमण गरिएको थियो । स्थानीयवासीले होडाको हातबाट माइन्युटसमेत खोसेर च्यात्नुका साथै उनीमाथि हातपातसमेत गरेका थिए । झडपको क्रममा कार्यकारी निर्देशक शिलाकारको बा१२च ४८६ नं को कार तोडफोड गरिएको छ । 
 
अस्पताल कर्मचारी कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले भने, “पुरानो व्यवस्थापन समितिले भ्रष्टाचार गरेपछि अस्पताल जोगाउन कर्मचारी एक भएका हौँ, भ्रष्टाचारको छानबिन गरी सत्यतथ्य बाहिर नल्यार्इ नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्ति गर्ने नाटक गरेपछि विरोध गर्नुपरेको हो, भ्रटाचारको छानबिन नभएसम्म पूर्वव्यवस्थापन समितिका भ्रष्टाचारको अभियोग लागेकालाई अस्पताल प्रवेश निषेध गरेका छौँ ।” 
 
अस्पतालका रेडियोथेरापीका कन्सल्टेण्ड डा विद्यापति झाले आफू २०५७ सालदेखि अस्पतालमा काम गर्दै आएको बताए । पुरानो व्यवस्थापन समितिलाई भ्रष्टाचार नगर्न पटकपटक सचेत गर्दा पनि कर्मचारीलाई बेवास्ता गर्दै करोडौँ रुपैयाँ भ्रष्टाचार भएको अवस्थामा यो अस्पताल जोगाउनु आवश्यक रहेको उनको भनाइ छ ।  
 
पुरानो व्यवस्थापन समितिलाई खारेज गर्दै भक्तपुर नगरपालिकाले अस्पतालमा नगरप्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नयाँ व्यवस्थापन समिति गठन गरी हाल सञ्चालन गर्दै आएको छ । यसबारेमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्दै हाललाई यथावस्थामै सञ्चालन गर्न आदेश दिए पनि रिटको किनारा भने नलाग्दा थप अन्योल भएको छ ।

शेयर गर्नुहोस:

0
Shares