मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पशुपतिमा आउने भक्तजनसँग शुल्क लिए कारबाही

पशुपतिमा आउने भक्तजनसँग शुल्क लिए कारबाही


काठमाडौँ । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
 
विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही संस्थाले ठाउँ लिएर पैसा उठाउने गरेका थिए । 
 
यसरी शुल्क उठाउने संस्थाले रसिदसमेत नदिने गरेको गुनासो भक्तजनको थियो । 
 
भक्तजनको गुनासोलाई ध्यान दिएर पशुपति क्षेत्रका विभिन्न स्थानमा बत्ती बाल्न आउने भक्तजनसँग शुल्क नलिन सम्बन्धित सबैलाई निर्देशन दिइएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए । 
 
कुनै संस्थाले भक्तजनसँग शुल्क लिएको पाइएमा कारबाही गरिने उनले बताए । भक्तजनको सुविधाका लागि नेपाली सेनालगायत सुरक्षा निकाय एवं विभिन्न संस्थासँग पाल लिएर पशुपति क्षेत्रका विभिन्न स्थानमा पाल हालिएको छ । 
 
भक्तजनलाई चिसोका कारण समस्या नहोस् र बत्ती बाल्न पनि सहज भन्ने उद्देश्यले अधिकतम् पालको व्यवस्था गर्न लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले सुनाए । 
 
बाला चतुर्दशी पर्वका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको कोषले जनाएको छ । बेलुकीको समयमा महिला भक्तजनको सुरक्षामा विशेष ध्यान दिन लागिएको छ । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त संयन्त्रले काम गर्ने कोषले जनाएको छ ।
 
यसैगरी राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि सादा पोसाकमा खटिनेछन् । यस वर्ष मङ्सिर ८ गते आइतबार बेलुकी वैदिक सनातन हिन्दू धर्मावलम्बीले दिवङ्गत पितृका नाममा बत्ती बाल्छन् । 
 
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बत्ती बाल्ने शास्त्रीय विधि छ । 
 
चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व सम्पन्न हुन्छ । यस अवसरमा भक्तजनले पशुपतिलगायत देशभरका शिवालयमा बत्ती बाली चतुर्दशीका दिन बिहान शतबिज छर्छन् ।

शेयर गर्नुहोस:

0
Shares