मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विराटनगरमा छोरी बचाऔँ कार्यक्रम प्रभावकारी

विराटनगरमा छोरी बचाऔँ कार्यक्रम प्रभावकारी


विराटनगर । विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाऔँ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।  
 
छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, तिनालाई सम्मान गर्नुपर्छ र समयानुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्छ भन्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता भएको महानगरपालिकाको ठहर छ ।
 
चालू आर्थिक वर्षदेखि कार्यक्रम सुरु भएपछि लाभान्वित वर्ग खुशी हुँदै गएको महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले बताइन् । 
 
महानगरपालिकाले बालबालिकाको हितको संरक्षण, सरसफाइ, लैङ्गिक समानता, हिंसा, गरीबी, सीमान्त महिलालाई संरक्षण, छोरीको गर्भपतनको न्यूनीकरण र छोरीलाई प्रोत्साहन गर्न सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यसका लागि महानगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको छ । 
 
कार्यक्रमअन्तर्गत पहिलो सन्तानलाई रु तीन हजार र दोस्रोलाई रु २५ हजार महानगरपालिकाले ग्लोबल बैंकमा खाता खोली सो रकम बैंकमा १८ वर्षका लागि राखिदिने गरेको छ । पहिलो सन्तान जन्माउने ३५ तथा  दोस्रो सन्तान जन्माउने ३२ जनाले यो सुविधा लिएका छन् । 
 
सेवा लिनलाई स्वास्थ्य संस्था वा अस्पतालमा सन्तान जन्मिएको हुनुपर्ने, ३५ दिनभित्र जन्म दर्ता गरेको, वडा कार्यालयको सिफारिस अनिवार्य लिएको, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि र दोस्रो सन्तानका हकमा दुवै छोरीको जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा रहेको हुनुपर्ने उपप्रमुख कार्कीले जानकारी दिइन् । 
 
कार्यक्रम आउने दिनमा अझै प्रभावकारी बन्ने र यसले समाजमा सकारात्मक प्रभाव पार्ने धारणा उनले व्यक्त गरिन् । 

शेयर गर्नुहोस:

0
Shares