मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्राकृतिक विपत्तिमा परी १९५ जनाको मृत्यु

प्राकृतिक विपत्तिमा परी १९५ जनाको मृत्यु


काठमाडौँ । यस वर्ष विपद्बाट अहिलेसम्म  १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत एक हजार ५२५ घटनामा १९५ जनाको मृत्यु भएको जानकारी दिए ।
 
उनका अनुसार तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।  प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेक लागेर १३,
 
जनावरको आक्रमणबाट नौ, हावाहुरीबाट आठ, भारी वर्षाबाट सात, सर्पदंशबाट छ, हवाई दुर्घटनाबाट तीन  र  अन्य घटनाबाट तीन जनाको मृत्यु भएको छ ।   
 
विपद्को घटनामा परेर ३५ बेपत्ता र ४८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिराबाट नौ तथा डुङ्गा पल्टेर र हिउँपहिरामा परी एक एक छन् । घाइते हुनेमा चट्याङबाट १६३, हावाहुरीबाट १४९, आगलागीबाट ६८, जनावरबाट ३५, पहिराबाट २९, भारीवर्षाबाट १४ र  बाढीबाट दश जना भएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार ती घटनामा करीब रु दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६१९ क्षति भएको छ । 
 
सबैभन्दा बढी क्षति आगलागीबाट रु एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार भएको छ । त्यस्तै बाढीबाट रु एक अर्ब पाँच करोड पाँच लाख चार हजार क्षति भएको छ । बाढीपछि हावाहुरीबाट रु छ  करोड ५५ लाख ३३ हजार, पहिराबाट रु  एक करोड ७८ लाख तीन हजार, भारी वर्षाबाट रु ८२ लाख २० हजार पाँच सय, चट्याङबाट रु २६ लाख दुई हजार र  जनावर आतङ्कबाट रु नौ लाख १९ हजार क्षति भएको जनाइएको छ । 
 
उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार  ९९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६९७ घरपरिवार प्रभावित भएका छन् ।  यसैगरी आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिराबाट १५८, जनावर आतङ्कबाट ७५, भारी वर्षाबाट ५०, लेक लागेर १८ र  सर्पदंशबाट १० घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक हजार २६४ घर आंशिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ । 
 
यसैगरी एक हजार १७८ पशु चौपाया मरेको र ३८४ गोठमा क्षति पुगेको जनाएको छ । आगलागीबाट ५५८, चट्याङबाट ४१८, पहिराबाट ९२, बाढीबाट ५१, हावाहुरीबाट ३७, जनावर आतङ्कबाट नौ, भारी वर्षाबाट सात र  असिनाबाट छ चौपाया मरे । केही दिनअघि आएको अविरल वर्षाका कारण भने करीब ९० जनाको ज्यान गएको थियो ।