मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

दृष्टिविहीन हुनु मेरोलागि आशीर्वाद हो

दृष्टिविहीन हुनु मेरोलागि आशीर्वाद हो


नीलो आकाश, रातो गुलाफ, यो हरियाली अनि रङ्गीबिरङ्गी दुनियाँ हेर्ने मन कहिल्यै लागेको छ तपाईँलाई ?
 
दृष्टिविहीनहरूको रोजगारीको हक अधिकारको लागि संघर्षरत बुना दाहाल – जो जन्मदेखि नै दृष्टिविहीन हुनुहुन्छ, उहाँलाई मैले यो प्रश्न गर्नु जायज थियो की थिएन थाहा छैन | तर अंतर्मनले जितेर उहाँसँग मैले राखेको यो प्रश्नको उत्तर यस्तो छ –
" हो म नाङ्गो आँखाले देख्दिन तर मनको आँखाले रातो गुलाफको अङ्गप्रत्यङ्ग देख्छु | तपाईँले दिलको प्रश्न गर्नुभयो, म खुसी छु | नीलो आकाश देख्ने भन्दा त्यसलाई छाम्ने र छुने प्रक्रियामा छु | म समाजलाई स्वावलम्बि बनाउने प्रक्रियामा छु | एक नेत्रहीन महिलाको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भने संसार परिवर्तन गर्न सकिन्छ | म एकान्तमा हरिया घास देख्न सक्दिन भनेर सोच्दिन | सबैको जीवनमा कसरी उज्यालो ल्याउन सकिन्छ, मैले समाजलाई के दिन सक्छु भनेर सोच्दछु | "

सन १९७१ जनवरी १४ विराटनगरमा जन्मनु भएकी बुना दाहालले नेतृत्व विकास र व्यवस्थापनमा कोलोराडोको Regis Unversity बाट डबल मास्टर गर्नु भएको छ |
 
बुनाले कोलम्बिया कलेज शिकागोबाट पत्रकारितामा व्याचलर गर्नु भएको छ |
 
केही गर्छु भन्ने प्रबल इच्छा शक्तिले गर्दा आफ्नो सुरक्षित जागिर छोडेर २००७ मा "डाइनामिक बुना" नामको आफ्नै संस्था खोल्नु भएको छ |
 
विश्वव्यापी रूपमा जोडिएर रहेको यो संस्थाले नेतृत्व विकास र रोजगार प्रवर्धन (Leadership and Empolyment Development) को काम गर्छ | विभिन्न देशमा कार्यक्रमहरू लगेर तालिम दिने गर्छ | यसै सिलसिलामा हालै मात्र मलेशियामा तालिम कार्यक्रम सकेर बुना सियाटल फर्कनु भएको छ |
 
यतिखेर नेपालमा स्तन क्यान्सर टेस्ट मेशिन लाने अभियानमा हुनुन्छ बुना | त्यसै गरी दृष्टिविहीनको लागि सचेतना कार्यक्रमहरू लैजाने प्रयासमा हुनुहुन्छ |
 
फिलाडेलफियाको Over Brook School for the Blind बाट नेपालमा छात्रवृत्ति पाएर एकवर्षको लागि कम्प्युटर टेक्नोलोजी र अङ्ग्रेजी पढ्न एसएलसी सकिए लगत्तै सन १९९० मा उहाँ अमेरिका आउनु भएको हो |
 
त्यसपछि कलेज पढ्न छात्रवृत्ति निवेदन दिएर उहाँले पढाई सुरु गर्नु भएको थियो | Colorado center for Blind बाट उहाँलाई जागिरको पहिलो प्रस्ताव आयो | यसैले ग्रिन कार्ड समेत दिलायो |

मार्च २००९ मा बुना अमेरिकन नागरिक टमी पावेलसँग वैवाहिक जीवनमा गाँसिनु भयो | आफ्नो वैवाहिक जीवनदेखि निकै खुसी बुना भन्नुहुन्छ – "मैले माया र इज्जत दुवै पाएकी छु | हाम्रो मित्रता प्रगाढ छ |"
 
अमेरिकामा आफ्नो धेरै समय नेत्रहीनहरूको रोजगारीको निम्ति खर्चिनु भएको छ उहाँले | नेत्रहीनहरूको क्षमता के हो र उनीहरू स्वावलम्बि भएर कसरी समाजको विकास गर्न सक्छन् भनेर लागि परिरहनु भएको छ | आफ्ना कार्यक्रमहरू मार्फत अमेरिकामा व्यवस्थापक र नेत्रहीन दुवैलाई सचेत गरिरहनु भएको छ |
 
अमेरिकाभर रहेका नेत्रहीनहरूमा ७० प्रतिशत बेरोजगार थिए पहिले | नेतृत्व र सचेतनाका कार्यक्रमहरूपछि फलस्वरूप ९५ प्रतिशत नेत्रहीनहरू रोजगार भएको सफलताको कुरा बताउनु भयो बुनाले | यो सफलता पश्चात् अमेरिकाको समाज कल्याण विभागले हरेक स्टेटमा उहाँलाई तालीम दिन बोलायो |
 
मिलनसार, प्रस्ट वक्ता बुना आफ्ना दैनिक जीवनका ९८ प्रतिशत काम आफै गर्नुहुन्छ | आफू सकेसम्म अरूको भर पर्न नपरोस भन्ने कुरा उहाँको हरेक क्रियाकलापले दर्शाइरहेको मैले पाएँ |
 
आफ्नो संसार असाध्यै सुन्दर मान्नुहुन्छ बुना | त्यही सुन्दर संसारको एउटा निजी घटना उहाँले "यो कथा होइन" स्तम्भ मार्फत हिमालय खबरलाई बाँड्नु भयो –
 
" सानो छँदा विराटनगरमा दिदी, दाइ र भाइ स्कुल गएको थाहा पाउँदा मलाई नि असाध्यै स्कुल जान मन लाग्थ्यो | टिफिन च्यापी स्कुलको ड्रेसमा झोला बोकेर उनीहरू स्कुल जाने म चाहिँ घरमा बस्नु पर्दा सारै खिन्न हुन्थेँ |
 
उनीहरूसँगै स्कुलको ड्रेस लगाएर, झोला बोकेर तयार हुन्थेँ म | मेरोलागि स्कुल जाने ड्रेस पनि तयार गरिएको थियो | आमालाई टीफिन पनि तयार गर्न लगाउँथे स्कुल लाने भनेर | तर म जस्ता नेत्रहीनको लागि कुनै स्कुल खुलेको थिएन | मेरो निम्ति पनि त केही होला नि भनेर आमाबाबुलाई सधैँ घच्घच्याई रहन्थेँ | रातो दिनको मेरो जिद्दी, पहल र करबलले गर्दा बाबुआमालाई स्कुल खोज्न कर लाग्यो आखिर | म दृष्टिविहीनहरूको स्कुलमा भर्ना भएँ | मैले पढ्न पाउनु नै मेरो जिन्दगीको उज्यालो ढोका खुल्नु थियो | त्यसपछिको मेरो यो जीवन भित्री प्रकाशले प्रज्वलित छ |

दृष्टिविहीन हुनु मेरोलागि आशीर्वाद हो | मेरो भित्री आँखा खुलेको छ | विश्वमाझ मिसिन पुगेकी छु म | मलाई नेत्रहीन हुनुको कुनै दुःख छैन | म आफूलाई भाग्यमानी ठान्छु | दृष्टिविहीन उसैमाथि अझ छोरी भएर जन्मनु नेपाल मात्र नभई अमेरिकी समाजमा पनि हेयको दृष्टिकोणले हेरिन्छ | घर खान सक्दैनन् भन्ने धारणालाई तोडेकी छु | काम पनि गर्छु र घरबार पनि गरेकी छु | "
 
जीवनका मोडमा हामीसँग तीतामीठा कति घटनाहरू हुन्छन् | जुन कति भन्न सकिन्छ कति मन भित्रै दब्दछ |
 
सोह्र वर्षको हुँदा अमेरिका आएको र सोह्र नै वर्ष अमेरिकामा स्थायी हुन गरेको सङ्घर्षको नमीठो अनुभव पनि थियो उहाँको | आफ्नो यो लामो पर्खाइ र सङ्घर्षको हिसाब अन्तर्वार्ता दिने दिन अफिसरसँग चुक्ता गर्ने ठुलो धोको अधुरै रहेछ उहाँको | किनभने अन्तर्वार्तामै उपस्थित हुन नपरी उहाँको ग्रिन कार्ड घरमै आइपुगेछ | यो कुरा आफ्नो जीवनभर खट्किरहने उहाँले बताउनु भयो |
 
दृष्टि हुनेहरूलाई केही भन्न चाहनुहुन्छ कि ? मेरो अन्तिम प्रश्नमा उहाँको जवाफ –
" आफूप्रति विश्वास राख्नुहोस र आफ्नो प्रबल इच्छा शक्तिलाई कहिल्यै नडगमगाउनुस | मलाई हेर्नुस् – रित्तो आएकी थिएँ भरिभराउ छु | अझै यो समाजलाई भरिभराउ बनाउनु छ | "
 
(यो कथा होइन – दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् ,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।  www.himalyakhabar.com / [email protected] )