मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

मनिषको सद्बुद्धि पलाएको त्यो दिन ….

मनिषको सद्बुद्धि पलाएको त्यो दिन ….


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

आफूले आफूलाई जिते संसार जित्न सकिन्छ । त्यसो त आफू भित्रको दुर्गुणलाई जित्न त्यति सजिलो पनि छैन । दृढ अठोट  हुने हो भने गार्हो पनि छैन ।  हो त्यस्ता विजयताहरु तपाईं हाम्रो वरीपरी नै छन् ।  
 
तपाईँको परिचय ? –  मैले सोधें
सबैलाई स्वागत गर्दै बोलिरहेको देखेपछि लागेको थियो पक्कै  रेष्टुरांको मालिक यिनै हुनुपर्छ । 
– हजुर म मनिष ढकाल । 
अन्दाजि ४०/ ४५ वर्षको भद्र मानिसले विनम्रताका साथ जवाफ दिए ।  
उनको अर्को नाम म्यानि ढकाल पनि हो । गोरखा दबारको विजनेश कार्डमा सीईओ म्यानि ढकाल लेखिएको छ ।
त्यहाँ आएका प्रत्येक नेपाली पाहुनाहरू अर्थात पत्रकारहरुलाई शिष्टाचारका साथ अभिवादन र साथसाथै छोटो छरितो कुराकानी पनि गर्दै थिए उनी  ।
 
बिहानको नास्ता खान जाँदै गर्दा गाडिमा नेजा अधिवेशन संयोजक ध्रुव कुँवरले गोरखा दरबार रेष्टुराँकाबारे थोरै जानकारी गराई सकेका थिए । नेजाका पूर्व कोषाध्यक्ष शैलेस पोखरेलको साथी भन्ने पनि हामीले पत्तो पाइसकेका थियौं । को होलान त यी नेपाली मालिक भन्ने सामान्य मेरो उत्सुकता अब पुरा भैसकेको थियो । 
 
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को छैठौँ अधिवेशनको सिलसिलामा हामी वासिङ्टन, सियाटल स्थित गोरखा दरबारमा बिहानको नास्ता खान पुगेका थियौं ।
 
नास्ताको पर्खाइमा छेवैको कुर्सिमा थियौं हामी । सहभागी मध्ये कसैले जानकारी गराउनु भयो – नास्ता पछि थप समय पनि लिदा हुनेरे, चुनावी छलफल यहीं गर्ने रे ।
 
पछि उनकै मुखबाट सुनें – “मैले अघि नै अरु बाहिरी ग्राहककोलागि ढोका बन्द गरिसकेको छु । तपाईँहरु अरु थप समय आरामले लिनुहोस । ”  नेपालीप्रतिको यो सद्भाव देखेर स्वाभाविक रूपले मेरो ध्यान एकाएक उनिप्रति आकृष्ट भयो । यसो भित्तातिर नजर डुलाएँ –  डोको, खुकुरी,  नाङ्गलो, चुलेसि, हँसिया, मादल,  सारंगी लगायतका अनेक बाजाहरु आकर्षक रूपले झुण्डयाइएको थियो । नेपाली मौलिकतालाई जीवन्त राख्दै पूरै कलाकृतिले सजिएको थियो गोरखा दरबार ।  राम्रो लाग्यो, मैले  ती  सुन्दर नेपालीपनको सटासट फोटो पनि खिंचे ।
अर्को कुरा, नास्ताकोलागि राखिएको जलेवी पुरीसँग चनाको तरकारीको स्वाद तारीफ योग्य थियो । मैले थपि थपि खाएँ । परदेशमा पाएको यो स्वदेशी स्वादले मेरो मन मस्तिष्क निकै रमायो । यसले पनि गोरखा दरबार र यसका सृजनकर्ताप्रति थप कौतूहलता जगायो । 
 
रेष्टुरांको एउटा कुनाबाटै म हेरिरहेकी थिएँ । त्यहाँ आएका करीब चालीस , पचास पाहुनासँग प्राय मनिषले बोल्न भ्याई सकेका थिए । 
 
यी भद्र मानिसलाई एउटा कुनोबाट नियाली राख्दा मैले मनमनै सोचें – आज जीवनको यो मोडमा आईपुग्न उनले गरेका संघर्षका कथा, व्यथा होलान, विर्सिनसक्नुका त्यस्ता घटनाहरु पनि त होलान नी ! हामीसँग समय थियो किनकी  अर्को लटमा नास्ता गर्ने साथीहरु अझै आउँदै हुनुहुन्थ्यो । मैले यो मौका नगुमाउने विचार गरें ।
 
छिटो, छिटो खाइसकेर वीस मिनेटको समय मागे मनिष ढकालसँग । उनले खुशिसाथ स्वीकार गरे ।  
 
केहि पत्रकार साथीहरु नेजाको चुनावी मेलोमेसोमा लाग्दै गर्दा हामी चाँही रेष्टुराँ भित्रै कुनाको एउटा टेबल तर्फ लाग्यौं मनिषको जिन्दगीका पानाहरूलाई पल्टाएर हेर्न ।
 
सदबुद्धि पलाएको दिन
गोरखाबाट मनिष ढकालका पुर्खाले विराटनगर बसाईं सरेका रहेछन ।  बिराटनगरको सेरोफेरोमा एउटै मात्र छोरो मनिष ढकाल बडो लाड प्यारमा हुर्किए  । 
 
“अमृत कुनै वखत विष पनि हुन सक्छ “भने जस्तै यो लाडप्यारले उनि माथि उल्टो असर गर्यो । छ, सात कक्षा पुगेपनि पढाईमा भने मठ्ठू ! बिराटनगरको जनता माविमा पढ्थे उनि ।
 
बाबुको सोर्स फोर्सले कक्षा चढे पनि यिनी कखगघ, एवीसीडी बाहेक अरु केहि पनि नजान्ने रहेछन् ।  स्कुल त गई टोपल्ने तर आवारागर्दी मै यिनको दिन बित्दो रहेछ । खराब संगतको लतमा लाग्दा पढाई  कुन चराको नाम हो भन्ने भएको थियो । दश कक्षासम्म कसरी पुगे यिनी सम्झेर आफै आश्चर्य मान्छन् । अब त सोर्स फोर्स पनि चलेनछ,  तीन बलड्यांग खाएछन् दश कक्षामै । यिनलाई पास र फेलको फरक सायद थाहा थिएन । फेलले कुनै असर पनि गरेको थिएन होला । रिजल्ट आएको दिन हुनुपर्छ, दिउसै घरमा मस्त सुतिरहेका मनिषको कानमा गुनगुन आवाजहरु एकाएक ठोक्किन  पुगे । बाहिर चार पाँचजना मान्छेहरु जो उनकै बारेमा कुरा गर्दै थिए । मनिषका बुबा निकै निराश हुँदै भन्दै हुनुहुन्थ्यो – “हामीले छोरा सुध्रला भनेर अब माया मार्यौ । लौ केहि गर्दा नहुने भो। ” आफ्नो एक मात्र छोरालाई इंजीनियर बनाउने बुबाको धोकोमा पानी फेरिएको थियो । बाहिरबाट आएका लामा लामा निराशाका सुस्केराहरुले उनको कान सुइरोले घोचे जस्तै भयो । 
 
“छोराले गर्दा तपाईंले सारै दुख पाउनु भयो ढकाल दाई।” – अनेक प्रकारले  बुबालाई सहानुभूति दिदै थिए मानिसहरू । यो सब भित्रबाट सुनिरहेका मनिषलाई सारै नराम्रो लागेछ । त्यो निराश र लाचार वातारणले मनिष अत्यन्त दुखी भएछन् । एकाएक मनिष भित्र सदबुद्धि पलायो – “धत मैले सबलाई दुख दिएर अहिलेसम्म कस्तो नकाम गरेको रहेछु ।” 
 
त्यो घटना वा त्यो परिस्थितिले उनको भित्री मनको ढोका उघारीदियो  । 
“उत्तिनै खेरी मेरो मन र सोच बदलियो ।” – मनिषले यसो भनिरहदा उसको भावभंगीलाई मैले गहिरिएर निहालें  । 
उनी भन्दै गए म लेख्न छोडेर एकछिन एकतमासले उसलाई नै हेरिरहें  ….। 
“अति फिल भयो मलाई ।  खाटबाट उठें र  आफैसँग अठोट गरें – अब म कुनैपनि हालतमा पढ़छु ।”
 
त्यसपछि  विराटनगरको आदर्श माविमा नौ कक्षामा गएर भर्ना भए । वडो गम्भीरताका साथ पढ्न थाले । अन्ततः उनले एसएलसिमा स्कुल टप गरिछाडे । बाटो के पहिल्याए, विसंगतिले उनको साथ चटक्कै छोडिदियो । त्यसपछि उनले कहिल्यै पछाडि फर्कनु परेन । पछि उनले भारत गएर इंजीनियरिंग अध्ययन गरे ।
 
बुबाको सपना उनले पुरा गरे । आज अमेरिकामा मनिष राम्रो इंजीनियरका रुपमा चिनिन्छन् । साथसाथै आफ्नो व्यापार व्यवसाय समेत पनि गर्न भ्याएका छन् उनले । भारतको अध्यन पछि केहि वर्ष नेपालमा आरएनएसीमा काम गरे । उतिबेला स्कुले साथीहरुले उनलाई आरएनएसीमा देख्दा ए मरीचे ! भनेर बोलाएको रमाइलो प्रसंगको स्मरण गर्दछन उनी  ।
 
मनिष ढकालको मस्तिष्क चलिरहन्छ हरदम । क्रिएटीभ सोचका धनी छन् उनी । समस्याहरुलाई चुनौतीको रुपमा लिएर जुधिरहन्छन । त्यसैले कहिले इंग्लिस इंस्टिच्युटको  टीचर भए, कहिले इंग्लिश कोचिंग क्लास नै चलाए नेपालमा। अमेरिका आएर पनि सेल फोन एसोसरिजदेखि रेस्टुराँको मालिक बनेका छन् उनी । अझै नेपालमा उत्पादित मसलाहरूलाई अमेरिकामा ल्याएर व्यापार गर्ने ठुलै योजना बुन्दैछ यिनको दिमागले ।
 
गोरखा दरबार
नाम नै यूनिक लाग्यो तपाईँको रेष्टुराँको भनिरहँदा मुसुक्क हाँस्दै जवाफ दिन्छन  मनिष –  “मेरो पुर्खा गोरखाबाट आएको हुँदा यो नाम जुराएको हुँ । ” 
ममको मात्रै चालीस भेराईटी राखेको उनले बताए । 
 
गोरखा दरबारमा प्राय गोरा वर्णका ग्राहक बढी आउने रहेछन। नेपालीहरु कुनै कार्यक्रमहरु हुँदा मात्र हो नत्र फाटफुट मात्रै आउने रहेछन । 
 
गोरखा दरबार खुलेको धेरै भएको छैन । जम्मा डेढ़ वर्ष मात्र हो । तर यसको कमाईबाट उनलाई असन्तोष छैन । लन्चमा पनि स्पेशल अर्डर गर्न पाइने गोरखा दरबारको विशेषता हो । टू गो, होम डेलिभरीको पनि सुबिधा छ यहाँ । राम्रो सेवा र स्वादिलो खाना दियो भने रेष्टुराँ चल्छ भन्ने मान्यता राखेका छन् यिनले । 
 
नास्तामा चनाको स्वादिलो तरकारी पकाउने सेफ दिदी रीता नेपाल रिजालसँग पनि चिनजान भयो । नेपालमा नुवाकोट घर भएकी हँसिली दिदीको अनुहार यो स्तम्भ लेख्दा झलझली आइरह्यो आँखामा ।
 
आफ्नो हरेक सपनामा श्रीमती अंजना ढकालको ठूलो  सहयोग रहिआएको सगर्व बताउँछन् मनिष । रेष्टुराँका भित्ताका नेपाली कला संस्कृतिलाई औल्याउदै उनले भने – “यो डिजाइनको अवधारणा मेरै श्रीमतिको हो ।” 
  
अंजना ढकाल रेष्टुरांको काउन्टरमा बसेर सहयोग गरिरहेको पनि हामीले देखिरहेका थियौं । 
 
कतै पढेकी थिएँ – हरेक मानिस  भित्र आफ्नै प्रकारको क्षमता हुन्छ । कसैले चिन्छ र पहिल्याउछ, कसैले चिन्छ मात्रै । कसैले चिन्नै सक्दैन ।  
 
आफ्नो जिन्दगीको भोगाइले  मनिषलाई निकै परिपक्व बनाएको छ ।  भन्छन – “म कुनै मान्छे स्लो र फास्ट छ भन्नेमा विश्वास गर्दिन । मानिसको मनको स्टाटसमा भर पर्ने कुरा हो । एउटा संकल्प लिएर अगाडि बढ्यो भने सब संभव छ ।”
(यो कथा होइन – दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् ,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।  www. Himalyakhabar.com / [email protected] )

शेयर गर्नुहोस:

162
Shares