नेपालीहरु मेहनती र इमान्दार छन् भनेर चिनिन्छन् । यस्तो मेहनत र इमानन्दारी विदेशमा पनि नेपाली सङ्गीत र साहित्यको क्षेत्रमा देखिन थालेको छ । यसको ताजा उदारण लोकप्रिय रियलिटी शो अमेरिकन आइडलमा दिवेश पोखरेल ( आर्थर गान ) को सहभागिता हो । हामी सबै संसारभरका नेपालीको लागि यो गौरव मान्ने कुरा पनि हो । तर कतिपय प्रतिभाशालीहरु अघाडि आउन चाहँदैनन् । उनिहरुसंग शीप छ , कला छ तर त्यसलाई आफूसंगै लुकाउन चाहन्छन् । त्यस्तै एकजना पात्र हुन् छिरिङ्ग लामा ।
टेक्सासको डालासमा एउटा सानो सभ्य काव्यिक जमघट थियो बितेको साता । डीएम राई (निर्मला ) को निम्तोमा यो पङतिकार पनि ह्युटनदेखि सहभागी थिएँ । छिरिङ्ग लामा र डीएम राई दुई दम्पतिको सौहाद्रपूर्ण आयोजनामा उनिहरुकै चिटिक्क परेको घरमा यो जमघट सुसम्पन्न भएको थियो ।
स्वादिलो भोजन र अर्थपूर्ण कार्यक्रमको तारीफ गर्दै हामी भगवतीजी , विनोद दाइ र म अन्तिम पाहुनाको रुपमा विदावारी हुँदै थियौं कि मेरा आँखाहरु मूलढोकाको दाहिने तर्फ सानो खुला कोठा जस्तोमा गएर टक्क अडियो । चारैतिर नजर घुमाए जताततै त्यो सानो कोठा बाजागाजाले भरिपूर्ण थियो । आश्चर्य ! ति बाजाका मौन तरङ्गले मलाई सम्मोहन गरे झैँ यस्तरी तान्यो कि बाहिर निस्किन लगाएको जुत्ता मैले एक झट्कामै फुकाले ।
सँगैको सोफामा गएर थचक्क बसें । अब छक्क पर्ने पालो अरु सबैको थियो । मैले समय खेर नफाली डीएम र छिरिङ्ग दुवैको पोज पोजको फोटो खिँचे। ति संगीतका वाद्य यन्त्रहरु माझमा राखेर । जब छिरिङ्गलाई छेवैमा बस्ने आग्रह गर्दै एक पछि अर्को प्रश्नहरु गर्न थाँले सबैले कुरा बुझिहाले।
रात भने छिप्पिदैं थियो । मैले भगवती र दाइलाई एकछिन त्यसको चिन्ता नगर्न आग्रह गरें । किनकि डालासमा मेरो बासस्थानको टुङ्गो उनिहरुकै घरमा लागेको थियो ।
आफ्नो समाज र समुदायको सांस्कृतिक कार्यक्रम र चाडपर्वहरुमा कहिलेकाहीँ लामाले आफ्नो प्रतिभा देखाउने गरेका छन् । निकै अघिदेखि टुङ्गनाको धुन बजाएर फेसबुकबाट धेरैलाई मन्त्रमुग्ध पारिसकेका छिरिङ्गले यो जमघटमा पनि दमदार प्रस्तुति दिएका थिए । टुङ्गनाको धुनमा गीत गाएर तालिको गडगडाहट बीच उनले ‘वान्स मोर’ पनि पाएका हुन् । त्यसदिन टुङ्गना , काव्यिक कार्यक्रमको विशेष आकर्षणको रुपमा रह्यो । निकै उत्साहका साथ सहभागीहरु यो बाजासँग घरीघरी फोटो खिच्दै थिए ।
अफिस जस्तो लाग्ने सानो कोठामा टुङ्गना , डंफु , मादल मेन्डोलियोन , बेन्जो , डिजेम्बे ( अफ्रीकन बाजा ) , बाँसुरी , गीतार लगायतका थुप्रै सङ्गीत साधनहरु थिए ।
कतिपय बाजाहरु नेपालबाट ल्याइएको कतिपय यहीं किनेको बताए लामाले ।
छिरिङ्ग लामालाई मैले सोधें – यी संगीतका साधनहरु प्रतिको लगावबारे केहि भन्नुहुन्छ ?
उनले भने – ” म सानो छँदादेखि म्युजिकप्रति आकर्षित थिएँ । गीतार बजाउँथे , काठको गीतार आफै बनाएर भए पनि बजाउँथे । कुनै गीतको भाव मन परेपछि बाजाको धुन बारम्बार बजाई रहन्थे । त्यो लतले मलाई आजसम्म छोडेको छैन । “
हो , उनको सङ्गीतप्रतिको प्रेम बुझ्न यी बाजाहरु नै काफी थिए । यी संगीतका साधक कतिपय बाजाहरुमा आफै तारहरु हालेर स्केल मिलाउँदा रहेछन् । डंफु र टुङ्गनाको यस्तै कथा उनले हामीलाई बताए ।
श्रीमती डीएम राईलाई बेला , बेलामा मिठो कविता फुर्नै , अनि श्रीमान बाजागाजा सहित गीत सङ्गीतमा रमाउने । यिनीहरुको जीवन कति रसीलो होला अनुमान लगाउन गाह्यो पर्दैन । पाँचथरकी डीएम र काभ्रेका छिरिङ्गको काठमाण्डौमा भेटघाट भएको थियो । सन १९९८ मा यी दुइले प्रेम विबहा गरे । साँच्चै यो प्रेमिल जोडीका कवि ह्रदय नियाल्दा अहा ! भन्न मन लाग्छ ।
यी दम्पतिका दुई छोरीहरु छन् । १९९८ मै अमेरिका आएका थिए लामा । डीएम भने सन २००२ मा आइन् अमेरिका । उनिहरुको यहाँ व्यवसाय छ । ग्यास स्टेशन र अटो बडी रिपेयरको । परिवारका साथ अमेरिकी जीवन राम्रै चलेको छ ।
वास्तवमा छिरिङ्गलाई तामाङ सोसाइटी अफ अमेरिका , डालस च्याप्टरका अध्यक्ष भनेर चिन्दछन् प्रायले । तर यिनी संगीतका होनहार साधक पनि हुन् भनेर कमैले चिनेका होलान् ।
उनी स्वयम स्विकार गर्दछन आफू लजालु स्वभावको छु भनेर । त्यसैले उनलाई एकांतमा संगीतसंग रमाउन नै आनन्द लाग्छ ।
” कला , साहित्य , संगीतले अपार खुशी दिन्छ , यो जीवनको बाँच्ने आधार हो । ” – लामा भन्छन् ।
एउटा अब्बल वाद्य वाधक लामा फुर्सद पायो कि संगीतमा भुल्छन् , बाजागाजामा हराउँछन् । उनी यसैमा लीन हुन चाहँन्छन् । चर्चा , परिचर्चा र प्रतिस्पर्धा भन्दा अलग रहेर ।
(यो कथा होइन – दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो । प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् , अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ । कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् । www.himalyakhabar.com / [email protected] )
प्रतिक्रिया